 
                             
                                            काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले रंगहरूका पर्वको रूपमा मनाइने नेपालीहरूको लोकप्रिय चाड फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कार, संस्कृतिले समृद्ध छौँ। विविधताबीचको एकता हाम्रो चिनारी बनेको छ।’
शरद ऋतुबाट वसन्त ऋतु आगमनको सुखद् समयमा आउने होली पर्वले सप्तरंगी जस्तै रंगिन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको पुनको भनाइ छ।
यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई अझै बलियो बनाउने राष्ट्रपति पुनको विश्वास छ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 