सिरी ए : स्वाभाविक लयमा फर्कने लक्ष्यमा नापोली

हिमाल प्रेस २७ फागुन २०७९ १६:१३ | Saturday, March 11, 2023
सिरी ए : स्वाभाविक लयमा फर्कने लक्ष्यमा नापोली

काठमाडौँ- गत शुक्रबार राति लाजियोसँग हारे पनि नापोलीको उपाधि लक्ष्यमा धक्का पुगेन। यद्यपि नापोलीको जित शृंखला भने टुंगियो। नापोली त्यसअघिका आठ खेलमा पराजित भएको थिएन। नापोलीले सिरी ‘ए’ मा यसपालि हारेको खेल संख्या दुई हो। लाजियोबाहेक इन्टर मिलानले मात्र नापोलीलाई हराउन सकेको छ।

शीर्षस्थानमा रहेको नापोली शनिबार राति मैदान फर्कदैछ। स्टाडियो अर्मान्डोमा हने खेलमा नापोलीको विपक्षी हो, एटलान्टा। यो खेल जिते नापोलीले दोस्रो स्थानको इन्टरसँगको दूरी १८ अंकमा पुर्‍याउनेछ।

सिरी ‘ए’ मा १३ खेल खेल्न बाँकी रहँदा नापोलीको च्याम्पियन बन्ने सम्भावना मजबुत  हुँदै गइरहेको छ। उता इन्टरको झिनो सम्भावना भने पातलिँदो छ। शुक्रबार राति स्पेजियासँग स्तब्ध भएपछि त इन्टरको ध्यान शीर्षस्थानमा होइन, दोस्रो स्थान कसरी बचाउने भन्नेमा छ।

जारी सिजन निर्णायक मोडतिर प्रवेश गर्दै गर्दा नापोली सचेत छ। यतिबेला आफ्ना खेलाडीमा एकग्रताको कमी नरहेको नापोलीका प्रशिक्षक लुसियानो स्पालेट्टीको भनाइ छ। ‘लाजियोसँगको खेल हामीले सोचे र योजना बनाएभन्दा विपरीत थियो। यो तथ्यबाट हामी कोही पनि भागेका छैनौँ,’ स्पालेट्टीले भनेका छन्।

नापोलीले सामना गर्न लागेको विपक्षीको पछिल्लो लय सन्तोषजनक छैन। यसको उदाहरण हो, पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित हात पार्नु। हाल छैटौँ स्थानमा रहेको एटलान्टा चौथो स्थानबाट पाँच अंकले टाढा छ। एटालान्टका लागि नापोलीसँगको खेल स्वाभाविक रुपमा सजिलो हुनेछैन। त्यसमाथि एटलान्टालाई खेलाडीको चोटले पनि दुःख दिइरहेको छ। टुएन कुपमिनर्स र डेभिड जापाकोस्टा जस्ता खेलाडी हाल मैदान बाहिर छन्।

नापोलीले सिरी ‘ए’ मा एटलान्टाविरुद्धका पछिल्ला पाँचमध्ये चार खेलमा जित हात पारेको छ। तर ती खेल जित्न नापोलीले कडा परिश्रम गर्नु परेको थियो। गत नोभेम्बरको भेटमा नापोलीका लागि भिक्टर ओसिमेन निर्णायक साबित भएको थिए। त्यसबेला उनले गोल त गरे नै, साथी एलिफ एल्मासकालागि असिस्ट पनि उपलब्ध गराए।

उनी एकपल्ट फेरि चम्किने विश्वास गरिएको छ। उनलाई भिचा काभारसेलियाको साथ रहनेछ। यी दुई मिलेर यो सिजन नापोलीको ५८ मध्ये २९ गोल गरेका छन्।

शीर्षस्थानमा नापोली ढुक्क भए पनि शीर्ष चारमा बाँकी टिमबीच प्रतिस्पर्धा चर्को छ। दोस्रो स्थानको इन्टर र पाँचौँ स्थानमा रहेको एसी मिलानबीच मात्र तीन अंकको दूरी छ। तेस्रो स्थानको लाजियोको ४८ अंक छ भने चौथो स्थानको एएस रोमा र मिलानको अंक बराबरी छ। उता युभेन्टस भने ३५ अंकसहित सातौँ स्थानमा छ।

सिरी ‘ए’ मा यो साता :

शनिबार
इम्पोलीविरुद्ध उडिनेजे, ७ः४५ बजे
नापोलीविरुद्ध एटलान्टा, १०ः४५ बजे
बोलोन्याविरुद्ध लाजियो

आइतबार
लेसेविरुद्ध टोरिनो, ५ः१५ बजे
क्रेमोनोजेविरुद्ध फियोरेन्टिना, ७ः४५ बजे
हेल्लास भेरोनाविरुद्ध मोन्जा, ७ः४५ बजे
एएस रोमाविरुद्ध सासुओलो, १०ः४५ बजे
युभेन्टसविरुद्ध साम्पडोरियाविरुद्ध, १ः३० बजे

सोमबार
एसी मिलानविरुद्ध सालेरनिटाना, १ः३० बजे

प्रकाशित: २७ फागुन २०७९ १६:१३ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast