सरकार र मिटरब्याज पीडितबीच छलफल सुरु

हिमाल प्रेस १६ चैत २०७९ २१:२८ | Thursday, March 30, 2023
सरकार र मिटरब्याज पीडितबीच छलफल सुरु

काठमाडौँ- मिटरब्याज पीडितको समस्या सामाधानका लागि सरकारी वार्ता टोली र पीडितबीच बिहीबारदेखि वार्ता सुरु भएको छ। सिंहदरबारमा बिहीबार भएको वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका उपसचिव एवं सरकारका तर्फबाट वार्ता टोलीका सदस्य दिलकुमार तामाङले वार्तामा पीडितको टोलीले नौ बुँदे लिखित माग प्रस्तुत गरेको ती विषयमा दफावार छलफल गरिएको जानकारी दिए। ‘वार्तामा सरकारले हालसम्म गरेको प्रयासबारे जानकारी गराइयो,’ उनले भने, ‘उनीहरूका मागबारे पनि दफावार छलफल भयो। कानून संशोधनको प्रक्रिया अघि बढेको कुरा पनि हामीले बतायौँ।’

पीडित पक्षको टोलीले आफ्ना अन्य आन्दोलनरत साथीहरूसँग पनि यस विषयमा छलफल गर्ने प्रतिक्रिया दिएको उनको भनाइ थियो। सरकारी वार्ता टोलीसँगको छलफलमा मिटरब्याज पीडितहरूले अधिकार सम्पन्न आयोग गठन गर्नुपर्नेदेखि अदालतमा परेको मुद्दाका विषयलाई समाधान गर्नुपर्ने माग राखेका थिए।

त्यस्तै मिटरब्याजीहरूले बनाएको तमसुक खारेज गर्नुपर्नेलगायतका माग पनि पीडितका छन्। समस्या सामाधानका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।

मिटरब्याज पीडितले संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा वार्ता टोली बनाएको थियो। यसअघि सरकारले मिटरब्याजमा लगाउने कार्यलाई अपराध घोषणा हुने गरी मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरिसकेको छ। पीडितहरू न्यायको माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौँ आएका छन्। रासस

प्रकाशित: १६ चैत २०७९ २१:२८ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast