वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी
काठमाडौँ- वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरु गरिएको बोर्डले जानकारी दिएको छ। सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले बताएको छ।
विदेशमा रहेका नेपालीले मोबाइल नं ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइबर, ह्वाट्स् एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने बोर्डको भनाइ छ। फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्न बोर्डले मेडिकल अधिकृत खटाएकोछ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याका कारण बिरामी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ।
बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा प्रत्येक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ।
आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा परे पनि सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डको भनाइ छ। रासस




