विकास आयोजनाहरू बर्खा नलाग्दै सम्पन्‍न गर्न बुटवल मेयरको निर्देशन

हिमाल प्रेस १० चैत २०७९ १९:४२ | Friday, March 24, 2023
विकास आयोजनाहरू बर्खा नलाग्दै सम्पन्‍न गर्न बुटवल मेयरको निर्देशन

लुम्बिनी– बुटवलभित्रका विकासका योजनालाई बर्खा नलाग्दै सम्पन्न गर्न बुटवल उपमहानगरले निर्देशन दिएको छ। बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले आफ्नो क्षेत्रमा निर्माणाधीन प्रमुख योजनाहरू अनुगमन गर्दै सम्बन्धित निकायका प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन्।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरूको अनुगमन गदै मेयर पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई सचेत गराए।

निर्माण सुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने उनले बताए।

बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरू समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गर्ने उनको भनाइ छ।

चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरूको शुक्रबार मेयर पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो।

चोरी निकासी रोक्न टोली परिचालन गरिने

यस्तै तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाउने पनि मेयर पाण्डेले बताए। बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरूमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरूकोसमेत निगरानी गर्ने र स्थानीय तहहरूसँग छलफल गरेर नियमनमा ल्याउने उपमहानगरको योजना रहेको उनले जानकारी दिए।

नगर प्रहरीसहितको टोलीले नियमित रूपमा निगरानी गर्ने र चोरीनिकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताउँदै उनले जिल्ला र नगरको सुरक्षानिकायलाई समेत चोरीनिकासमा थप संवेदनशील बन्नका लागि आग्रह गरे।

प्रकाशित: १० चैत २०७९ १९:४२ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast