रोकिएका क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु

हिमाल प्रेस ९ चैत २०७९ ७:३५ | Thursday, March 23, 2023
रोकिएका क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक क्याम्पसमा रोकिएका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ। त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन्।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया सुरु गरेको जानकारी दिए।

उनका अनुसार यही चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवन, चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन्।

यस्तै, बुधबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस भैरहवा र भैरहवा बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छ।

त्रिविले केही दिनअघि मात्र निर्वाचन प्रक्रिया सुरु नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो।

उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।

निर्वाचन प्रक्रिया सुरु नभएका क्याम्पसमा पनि समझदारीको प्रयास भइरहेको अधिकारीले जानकारी दिए।

यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ।

 

प्रकाशित: ९ चैत २०७९ ७:३५ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast