उपेन्द्र यादव।
काठमाडौँ- आज राष्ट्रपतिको निर्वाचनको दिन। सबै दलहरू राष्ट्रपतिको निर्वाचनमा होमिदैछन्। ठूला दलले आफ्ना उम्मेदवार जिताउन ह्वीप नै जारी गरेका छन्। यता जनता समाजवादी पार्टी (जसपा)लाई भने उपराष्ट्रपति पदकै तनाब भएको छ।
जसपाले आजैका दिन पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आजको बैठकबाट जसपाले उपराष्ट्रपतिको उम्मेदवार चुन्ने एजेन्डा छ।
राष्ट्रपतिको चुनावको सन्दर्भमा काठमाडौँ आएका सांसदलाई समेत राखेर जसपाले बैठक बोलाएको हो।
सत्ता गठबन्धनले जसपालाई उपराष्ट्रपति पद छाडेपछि जसपा त्यसैमा केन्द्रित हुन थालेको छ।
पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे सुरु बस्ने छ।
पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ। बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ।
जसपाका संघीय सांसद १३ र प्रदेश सांसद २२ गरी ३५ सांसद छन्। प्रतिनिधिसभा समानुपातिकतर्फ एक स्थान रिक्त छ। जसपाबाट संसदीय दलका नेता राम सहायप्रसाद यादव उम्मेदवारी दिने तयारी छ।
उनलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्र यादव उनको क्षेत्रमा चुनाव लड्ने चर्चा छ। यादवले गएको प्रतिनिधिसभा सदस्य चुनावमा हार व्यहोरेका थिए।
आयोग नै बन्ला उपेन्द्रको बाधन?
प्रतिनिधिसभा सदस्य चुनिन उपेन्द्र यादवले अनेक प्रयत्न गरेका छन्। आफ्नै नजिकका नेता रामसहायप्रसादलाई संसदीय दलको नेता बनाएका छन्। जसपाका अर्का अध्यक्ष अशोक राई संसदीय दलको नेता चुन्नि चाहेका थिए तर उपेन्द्रले दिएनन्।
अब पनि रामसहायप्रसादलाई उपराष्ट्रपति बनाउने प्रयत्नमा उपेन्द्र छन्। तर यता निर्वाचन आयोगले भने राष्ट्रपति र उपराष्ट्रपतिमा एक महिला हुनुपर्ने बताउँदै आएको छ। केही दिनअघि मात्रै पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले फरक लिङ्ग हुनुपर्ने बताएका थिए। राष्ट्रपतिमा सबै पुरुष उम्मेदवार हुनुभएकाले उपराष्ट्रपतिमा महिना चाहिने आयोगको बुझाइ छ।




