 बेल्जियमसँगकाे खेलपछि जर्मनीका खेलाडी
                            बेल्जियमसँगकाे खेलपछि जर्मनीका खेलाडी 
                                            काठमाडौँ- जर्मनीले युरो २०२४ को उपाधि जित्ने सपना देख्नुअघि धेरै थोक गर्न बाँकी रहेको प्रशिक्षक हान्सी फ्ल्किले बताएका छन्। आउँदो युरो जर्मनी आफैँले आयोजना गर्दैछ। पछिल्ला दुई विश्वकपमा खराब प्रदर्शन गरेको जर्मनी घरेलु भूमिमा महादेसीय प्रतियोगिता जित्नुपर्ने दबाबमा छ। तर त्यस्तो सफलता हासिल गर्न अहिलेको खेलस्तर पर्याप्त नहुने बायर्न म्युनिखका पूर्वप्रशिक्षक फ्ल्किको भनाइ छ।
जर्मन टिम फ्ल्किको नेतृत्वमा पुनरुत्थान अभियानमा छ। युरो आयोजक भएकाले छनोट खेल्नु नपरे पनि जर्मनी मैत्रीपूर्ण खेलमा व्यस्त छ। चार विश्वकप र तीन युरो उपाधि जितेको जर्मनी र बेल्जियम मंगलबार आमनेसामने भएका थिए। विश्वकप २०२२ को समूह चरणबाट बाहिरिएका दुई टिम भिड्दा बेल्जियम ३–२ ले विजयी भयो। यो खेललाई जर्मनीले परीक्षाका रुपमा लिएको थियो।
हारपछि जर्मन प्रशिक्षक फ्ल्किले आफ्नो टिममा निकै कमजोरी रहेको स्वीकार गरे। ‘जर्मन टिमले धेरै मेहनत गर्नुछ। यो तथ्यलाई हामीले स्वीकार गरेका छौँ,’ सन् १९५४ यता पहिलो पटक जर्मनी बेल्जियमसँग हारेपछि फ्ल्किले भने।
त्यसअघि जर्मनीले दक्षिण अमेरिकी टिम पेरुसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकपपछि पहिलो पटक मैदान उत्रदा जर्मनीले २–० को जित दर्ता गरेको थियो। पेरुसँग प्रभावकारी देखिएका जर्मन खेलाडीले बेल्जियमविरुद्ध मजबुत प्रदर्शन गर्न सकेनन्।
‘यो नतिजाले म खुसी छु भनेर भन्दिनँ। किनभने त्यो झुटो बोलेको हुनेछ। सत्य के हो भने सबै कुरा शतप्रतिशत सही हुन सकेका छैनन्,’ फ्ल्किले भने।
सन् २०१४ मा विश्वकप जितेको जर्मनी २००६ देखि २०१६ को बीचमा लगातार मुख्य प्रतियोगिताहरुको सेमिफाइनलमा पुगेको छ। तर त्यसपछि भने जर्मनीले क्वार्टरफाइनलसम्मको यात्रा पनि गर्न सकेको छैन। युरो २०२० कै कुरा गर्ने हो भने जर्मनी अन्तिम १६ मा इंग्ल्यान्डसँग पराजित भएको थियो।
सुरुसुरुमा जर्मनीको असफलताको कारण, कमजोर फिनिसिङलाई मानियो। भाग्यलाई पनि दोष दिइयो। तर पछिल्लो समय भने सबैले स्वीकार गरेको तथ्य हो, जर्मनी साँच्चै खराब लयमा छ।
कुनै समय जर्मनी यस्तै खराब स्थितिमा थियो। सन् २००० र २००४ को युरोमा समूह चरण नै कट्न नसकेपछि जर्मन टिमको पुनः निर्माण गरिएको थियो। बढीभन्दा बढी युवा खेलाडीहरुलाई अवसर दिँदा जर्मनी विश्वकप २००६ को सेमिफाइनल पुग्यो।
अब फ्ल्किको काँधमा इतिहास दोहोर्याउने जिम्मेवारी छ। उनलाई के पनि थाहा छ भने, घरेलु मैदानमा हुने महादेसीय प्रतियोगिताबाट चाँडै बाहिरिए जर्मन सर्वाधिक न्यून बिन्दूमा पुग्नेछ।
अहिलेसम्मकै खराब प्रदर्शन
जर्मनीबाट सन् १९९० को विश्वकप जितेका लोटर माटिएसले जर्मनीको बेल्जियमसँगको प्रदर्शनलाई हालसम्मकै खराब माने। ‘आफ्नो जीवनकालमा जर्मनीले यत्तिको खराब खेलेको देखेको थिइनँ। जर्मन खेलाडी आफैँले बेल्जियमलाई सजिलो बनाइदिए,’ बालोन डोरबाट समेत सम्मानित माटिएसको टिप्पणी थियो।
घरेलु मैदानमा जर्मनीले सुरुको १० मिनेटभित्रै दुई गोल खाएको थियो। यनिक कारारस्कोले छैटौँ मिनेटमन गोल गरेपछि खेलमा अघि बढेको बेल्जियमका लागि नवौँ मिनेटमा रोमेलु लुकाकुले गोल थपे। बेल्जियमको तेस्रो गोल भने केभिन डे ब्रुएनाले ७८ औँ मिनेटमा गरे।
फ्ल्किले ३२ औँ मिनेटमा फ्लोरियल रिजलाई हटाएर एम्रे क्यानलाई खेलाएपछि भने जर्मनीको खेल सुधारिएको थियो। ‘प्रशिक्षकले टिममा परिवर्तन गरेपछि प्रदर्शन सन्तुलित बन्यो,’ जर्मनकी एकल गोलकर्ता निकलु फ्युल्कबर्गले भने।
कप्तान जोसुआ किमिकले पनि क्यानको आगमनपछि जर्मनी बलियो बनेको प्रतिक्रिया दिएका थिए। ‘खेल जित्न नसके पनि दोस्रो हाफ हामीले सोचेको जस्तै भयो,’ किमिकको भनाइ थियो, ‘सुरुवाती २५ मिनेट हामीले जसरी खेल्यौँ, त्यो अस्वीकार्य थियो।’
प्रशिक्षक फ्ल्किले क्यानलाई टिमका लागि आवश्यक ‘लिडर’ को संज्ञा दिए। ‘उनको कारण पूरै टिम जाग्यो,’ फ्ल्किले भने।
अझै समय छ
यसपालिको फिफा विश्राममा भएका मैत्रीपूर्ण खेलका लागि फ्ल्किले आफ्नो टिमको परीक्षण गर्ने बताएका थिए। त्यसकारण उनले अनुभवी थोमस मुलर, लेरो साने, निकलस सुल र एन्टोनियो रुडिगरलाई टिमबाट बाहिर राख्दै कम मौकमा पाउँदै आएका खेलाडीलाई समेटेमा थिए।
फिल्कले आउँदा खेलमा पनि सकेसम्म धेरैभन्दा धेरै खेलाडीलाई मौका दिने र परीक्षण गर्ने संकेत गरेका छन्। जर्मनीले आगामी जुनमा युक्रेन र पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
‘अहिलेका लागि हाम्रो लक्ष्य टिमलाई थप बलियो बनाउँदै लाने हो। यसमा मैत्रीपूर्ण खेलले सहयोग गरिरहेका छन्। हारका बाबजुद हामी सकारात्मक भएर अघि बढिरहेका छौँ। निकै पक्षमा सुधार पनि गर्नुछ,’ फ्ल्किले भनेका छन्।
बेल्जियमसँगको हार जर्मनीका लागि तुलानात्मक रुपमा त्यति नमिठो होइन। किनभने जर्मनी नोभेम्बर, २०२० मा स्पेनसँग ६–० को पराजय भोग्न बाध्य भएको थियो। त्योभन्दा खराब हार जर्मनीले वर्ष विश्वकप छनोटमा सामना ग¥यो। त्यसबेला जर्मनीलाई उत्तर म्यासेडोनियाले २–१ ले स्तब्ध बनाएको थियो।
कप्तान किमिकि पछिल्लो १५ महिनामा जर्मन टिममा निकै सुधार आइसकेको बताउँछन्। यद्यपि केही पक्षमा सुधारको आवश्यकता रहेको उनको भनाइ छ। ‘बेल्जियमसँगको खेलले दिएको सन्देश हो, हामी अझै बलियो भइसकेका छौँ। तर सौभाग्वश हामीसँग अझै समय छ,’ बायर्न म्युनिखका किमिकले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 