 
                             
                                            काठमाडौँ- दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ।
दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ। ग्रामीण क्षेत्रमा त विभेद भयो। पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो भन्ने सुन्दा नमिठो लागे पनि अवस्था भने यस्तै छ।
सामान्य दलित समुदायका नागरिकले डेरा नपाएको विषय बेलाबेलामा सार्वजनिक भएको भए पनि सांसद नै त्यस्तो विभेदमा परेको विषय आज (बुधबार) राष्ट्रियसभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले सार्वजनिक गरेका हुन्।
उनले राष्ट्रियसभाको सदस्यका रूपमा निर्वाचित भएर काठमाडौँ आएपछि चार महिनासम्म डेरा पाउन नसकेको जानकारी गराए। उनले विभिन्न ६ स्थानमा डेरा खोज्न गए पनि अन्त्यमा जात सोधेर डेरा नदिइएको बताए।
‘सांसद भएर काठमाडौँ आएपछि प्रत्यक्ष रूपमा मैले भोगेँ। चार महिनासम्म मैले डेरा पाइनँ। ६ ठाँउमा मेरो पक्का भएपछि रद्द भयो,’ उनले भने। अहिले उनी दलित समुदायकै व्यक्तिको घरमा बसिरहेका छन्।
‘कुरा गर्न जाँदा सबै मिल्छ। अन्तिममा हिँड्ने बेलामा हजुर के थरी भन्नुहुन्छ? म विश्वकर्मा हो भनेपछि श्रीमतीसँग कुरा गरेको छ भने श्रीमानलाई सोध्नुपर्छ भन्नुहुन्छ। श्रीमानसँग कुरा गरेको छ भने श्रीमतीसँग सोध्नुपर्छ भन्नुहुन्छ,’ उनले दुःख पोखे।
एक्काइसौँ शताब्दीमा पनि दलित समुदायमाथि सहर तथा सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा विभेद भइरहेको उनले गुनासो गरे। विभेद र छुवाछूत अन्त्यका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। सहरी क्षेत्रमा नै जातीय विभेदको घटना भए पनि कारबाही नभएको उनी बताउँछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![सरकारले सुशासन बोल्ने होइन, देखाउने हो : डा.शेखर कोइराला [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2025/07/sherkhar-koirla.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 