 
                             
                                            काठमाडौँ- सेवाग्राहीको अत्यधिक चाप हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बिहान आठ बजेदेखि नै खुला गर्ने तयारी गरिएको छ। कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ अघिदेखि नै सेवाग्राही लाइनमा हुने भन्दै एकान्तकुना कार्यालयले उक्त तयारी गरेको हो।
बिहानैदेखि कार्यालयमा भीडभाड हुने भएकाले सोको व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र भीभाड कम हुने अपेक्षा कार्यालयले गरेको छ। ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्,’ कपालीले भने, ‘आउँछन् र काम भ्याएर खुरुखुरु जान सक्छन्।’
बिहानदेखि सेवा सुरु गर्नका लागि अहिले छलफल भइरहेको कार्यालय प्रमुख कपालीको भनाइ छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए। ‘कार्यालयमा ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ,’ कपालीले भने, ‘१० बजेसम्म त २ सय जनाको लाइन पुगिसकेको हुन्छ।’
उनका अनुसार कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको, जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीको भनाइ थियो। ‘समस्या रहेकालाई टोकन बिना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ,’ उनले भने।
कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेका छन्। त्यस्तै करारबाट २२ जना कार्यरत छन्। कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्तिको कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै रहेको उनले बताए।
यातायात कार्यालयमा सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालय हुन्। पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकार अन्तर्गत छ। कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 