 
                             
                                            म्याग्दी- म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो। विजयी पश्चिम म्याग्दीले एक लाख २० हजार रुपैयाँ तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे। यस्तै उत्कृष्ट गोलरक्षक कालीपुल युनाइटेडका सन्दीप क्षेत्री, उदीयमान खेलाडी सनम विक र अनुशासित टोली जनप्रिय युवा क्लब दरबाङ घोषित भयो।
अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई सात हजार रुपैयाँ तथा उत्कृष्ट युवा खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
विजेतालाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदी, नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मालगायतले पुरस्कार प्रदान गरेका थिए।
म्याग्दी कप व्यवस्थापन समितिको आयोजना तथा जिल्ला फुटबल संघको सह-आयोजनामा यही चैत १ गतेदेखि सुरु भएको सो प्रतियोगितामा १० क्लब सहभागी थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 