फाइल तस्बिर।
                                            काठमाडौँ- सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको बताएका हुन्।
उनले थर्काएर, किनेर, फकाएर ‘बिग हाउस’हरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरेका छन्। उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।
सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।
‘पत्रकारहरू पनि यस्तो प्रभावबाट कसरी मुक्त हुने त? यो समस्याको हल गर्नुपर्छ। किनभने यी हाम्रा समस्या हुन्,’ उनले भने, ‘तर अब राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदा लुकेर, छिपेर एकैचोटि ल्याउनुपर्ने त होइन नि।’
सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए।

                                             
                                             
                                             
                                             
                                             
                                             

