भुटानको अन्तर्राष्ट्रिय फुटबल यात्रा : नेपालसँग जोडिएका केही तथ्य

हिमाल प्रेस १४ चैत २०७९ १०:२६ | Tuesday, March 28, 2023
भुटानको अन्तर्राष्ट्रिय फुटबल यात्रा : नेपालसँग जोडिएका केही तथ्य

काठमाडौँ- प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार साँझ भुटानको सामना गर्दैछ। पहिलो खेलमा लाओसलाई हराएको नेपाल भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छ।

उता लाओससँग २-१ ले पराजित भुटान भने गर या मरको स्थितिमा छ। अक्टोबर, २०१९ पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको भुटानसामु नेपालविरुद्ध निडर प्रदर्शन गर्नुबाहेकको विकल्प छैन।

भुटान सन् १९९९ यता पहिलो पटक दशरथ रंगशालामा नेपालसँग भिड्न लागेको हो। आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालसँग खेल्दा भुटान ७-० ले पराजित भएको थियो।

त्यसयताको भेटमा भुटान यत्तिको ठूलो अन्तरले पराजित भएको छैन। यी दुई पछिल्लो पटक सेप्टेम्बर, २०१८ मा आमनेसामने भएका थिए। ढाकामा भएको साफ च्याम्पियनसिप अन्तगर्तको त्यो खेलमा नेपाल ४–० ले विजयी भएको थियो।

भुटान नेपालका लागि सधैँ सहज विपक्षी रहँदै आएको छ। यसको प्रमाण हो, अहिलेसम्म १२ खेल खेल्दा पराजय नभोग्नु। भुटान पछिल्लो पटक नेपाल सन् २०१३ मा आएको थियो, साफ च्याम्पियनसिप खेल्न।

त्यसबेला भुटानले नेपालसँग खेल्नु परेन। त्यसको दुई वर्षअघि नेपालले भुटानलाई पोखरामा स्वागत गरेको थियो। त्यहाँ भएका दुई मैत्रीपूर्ण खेलमा नेपाल १-० र २-१ ले विजयी भएको थियो।

भुटानी फुटबलको इतिहासमा नेपालको स्थान नर्बिसने प्रकारको छ। किनभने भुटानले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकै नेपालसँग खेलेर हो। अप्रिल, १९८२ मा आयोजित एन्फा कपमा नेपालसँग भिड्दै भुटानले अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेको थियो।

सन् १९८४ मा काठमाडौँमै भएको दक्षिण एसियाली खेलकुदमा भुटानले आफ्ना अन्य दक्षिण एसियाली देशसँग खेल्न पाएको थियो। त्यसबेला भुटानले नेपालबाहेक बंगलादेश र माल्दिभ्सको सामना गरेको थियो।

सन् १९९४ मा एसियाली फुटबल महासंघ एएफसीको सदस्य बनेको भुटानले दक्षिण एसियाबाहिर पहिलो पटक खेलेको प्रतियोगिता हो, सन् २००० को एएफसी कप छनोट। संयोगवश त्यहाँ पनि भुटान पहिलो खेलमा नेपालसँगै भिडेको थियो। नेपालसँग ३-० ले हारेको भुटान दोस्रो खेलमा घरेलु टिम कुवेतसँग २०-० ले पराजित हुन पुग्यो।

प्रकाशित: १४ चैत २०७९ १०:२६ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast