बैंकहरूको ब्याजदर नौ प्रतिशतभन्दा कम गर्न माग

हिमाल प्रेस ४ चैत २०७९ १९:२१ | Saturday, March 18, 2023
बैंकहरूको ब्याजदर नौ प्रतिशतभन्दा कम गर्न माग

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले एकल अंकको ब्याजदर कायम गरिनुपर्ने माग गरेको छ। चेम्बर अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन बैंकहरूको कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा तल हुनुपर्ने माग गरेका हुन्। हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लको भनाइ थियो।

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभामा शनिबार उनले अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर अपरिहार्य रहेको बताए। आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने पनि अध्यक्ष मल्लको भनाइ थियो।

ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुको विकल्प नरहेको बताए। उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नभए वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ थियो।

अर्थतन्त्रको वर्तमान अवस्था सुधार गर्न सरकार र निजीक्षेत्र मिलेर जानुपर्ने उनले बताए। स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई समेत उनले आग्रह गरे।

प्रकाशित: ४ चैत २०७९ १९:२१ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast