फेरि हेर्न सकिने ‘ऐना झ्यालको पुतली’

हिमाल प्रेस ६ चैत २०७९ १०:५८ | Monday, March 20, 2023
फेरि हेर्न सकिने ‘ऐना झ्यालको पुतली’

काठमाडौँ- फिल्म ‘ऐना झ्यालको पुतली’ पुनः प्रदर्शन हुने भएको छ। आज (सोमबार) फिल्म काठमाडौँ, सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमाजमा फिल्म हेर्न सकिने निर्देशक सुजित बिडारीले बताएका छन्। हेर्न छुटाएकाहरू वा फेरि हेर्न चाहनेले आज दिउँसो २ बजे फिल्म हेर्न सक्ने बिडारीको भनाइ छ।

फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत क्युएफएक्स सिनेमाजमा प्रदर्शनमा आएको हो। सिभिल मलसँगै भक्तपुरमा रहेको क्युएफएक्स भाटभटेनीमा पनि फिल्म लाग्नेछ। फिल्म भदौ २४ मा प्रदर्शनमा आएको थियो। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म व्यवसायिक रूपमा सफल भएको छ।

फिल्मले भारतको प्रतिष्ठित ‘कौटिक फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेता र अभिनेत्री गरी चार विधामा अवार्ड जितेको थियो। ‘ऐना झ्यालको पुतली’का लागि ‘बेस्ट एडिटर’को अवार्ड किरन श्रेष्ठले हात पारेका छन्। ‘उत्कृष्ट अभिनेत्री’ को कञ्चन चिमारिया र ‘उत्कृष्ट अभिनेता’ को अवार्ड दिनेश खत्रीले जितेका थिए।

फिल्म यसअघि दक्षिण कोरियाको ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’, बंगलादेशको ‘ढाका इन्टरनेसनल फिल्म फेस्टिभल’, चेक रिपब्लिकको ‘जलिन फिल्म फेस्टिभल’ र अस्ट्रेलियाको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’लगायत प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको छ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्मको रूपमा फिल्मले इतिहास बनाएको छ। ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा निर्देशक सुजित बिडारीले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारेका थिए।

निर्देशकका रूपमा उनको यो डेब्यु फिल्म हो। फिल्ममा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको थियो।  त्यसबाहेक फिल्ममा दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ। फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ६ चैत २०७९ १०:५८ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast