प्रधानमन्त्री प्रचण्डसँग अझै ६ मन्त्रालय

हिमाल प्रेस १७ चैत २०७९ १६:४५ | Friday, March 31, 2023
प्रधानमन्त्री प्रचण्डसँग अझै ६ मन्त्रालय फाइल तस्बिर।

काठमाडौँ- सरकार विस्तार भए पनि अझै ६ वटा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँसँग राखेका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मन्त्रिपरिषद् विस्तार भए पनि कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका हुन्।

पाँच मन्त्रालय कुनकुन दलले पाउने भन्ने टुंगो लागेको छैन। यस्तै खानेपानीमन्त्री अब्दुल खानले शुक्रबारै राजीनामा दिएपछि पद खाली भएको हो।

नवनियुक्त उपप्रधामन्त्री तथा मन्त्रीहरूले शुक्रबारै पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ छन्।

नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथ लिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रूपमा प्रकाश ज्वालाले शपथ लिए।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनीयताको शपथ लिए भने लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा शपथ लिए।

यस्तो छ कार्य विभाजन

पुष्पकमल दाहाल प्रचण्ड : प्रधानमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या,  युवा तथा खेलकुद र  खानेपानी
पूर्णबहादुर खड्का : उपप्रधान तथा रक्षा
नारायणकाजी श्रेष्ठ  : उपप्रधान तथा गृह
प्रकाशशरण महत  : अर्थ
रमेश रिजाल : उद्योग वाणिज्य तथा आपूर्ति
सीता गुरुङ : सहरी विकास
शक्तिबहादुर बस्नेत  : ऊर्जा, जलस्रोत तथा सिँचाइ
रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि
सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासन
बेदुराम भुसाल : कृषि तथा पशुपक्षी विकास
प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात
अशोक राई : शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रञ्जिता श्रेष्ठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
महिन्द्र राय यादव  : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
सुशीला सिर्पाइली ठकुरी :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
प्रकाशित: १७ चैत २०७९ १६:४५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast