 
                             
                                            पोखरा– पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरूपमा पाल्पा हाउसको उद्घाटन गरे।
सो अवसरमा मेयर आचार्यले पाल्पालीहरूको हरेक कार्य प्रशंसनीय भएको उल्लेख गरे। पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने उनले बताए। रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाकोसमेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने उनले विश्वास व्यक्त गरे।
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षा, आर्थिक, सामाजिकलगायत कार्यमा पाल्पाली समाज पोखराको कार्य प्रशंसनीय भएको जनाए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पाल्पाको गरिमा बढाउने गरी पाल्पालीहरूले गरेको यस्ता कार्यको अरूले सिको गर्नुपर्ने बताए।
पाल्पा हाउसमा सहजताका लागि विभिन्न उत्पादनहरूको सूचना केन्द्र खडा गर्नुपर्ने उनले सुझाव दिए।
पाल्पा हाउस प्रालिका अध्यक्ष कुल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापा, पाल्पा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाजका पूर्वअध्यक्ष नारायण पौडेल, कम्पनी सचिव श्रीधर पराजुलीलगायतले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा पाल्पा हाउसले भूमकिका खेल्ने बताए।
करिब २ करोड लागतमा सञ्चालित पाल्पा हाउसको समुद्घाटनसँगै शुक्रबारदेखि नै यहाँबाट रानीमहल रेष्टुरेन्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौँ टप टेलर्स, बिस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लसेट, सरिना फेसन क्रियसन एन्ड बुटिक सपलगायतले पनि कारोबार शुभारम्भ गरेका छन्।
मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले सञ्चालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल सञ्चालित छन्। पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरू एकैथलोमा उपलब्ध गराउनेछ। कम्पनीले रानीमहल रेष्टुरेन्टबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइलालगायत पस्किने छ।
नयाँ र नौलो स्वरूपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन्। पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन्। उद्घाटन अवसरमा विभिन्न सेवामा छुट दिइएको कम्पनी अध्यक्ष घिमिरेले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 