 
                             
                                            पोखरा- देशभरमै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पस पोखरामा आसन्न स्ववियु निर्वाचन अनिश्चित बनेको छ। ५ चैतमा हुने मतदानको लागि हालसम्म मनोनयन दर्ता हुन सकेको छैन। यतिसम्म कि निर्वाचन समितिका पदाधिकारी काम नगर्न नसक्ने भनी हात झिकेर क्याम्पस प्रमुखलाई शनिबार नै पत्र बुझाइसकेकोमा आइतबार अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
क्याम्पस प्रशासनलाई विपक्षी बनाई उच्च अदालत पोखरामा परेको रिटमा अदालतले २ चैतसम्म कुनै पनि काम अघि नबढाउनू भनी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। संगठनको नाम परिवर्तन भएको भनी स्वतन्त्र विद्यार्थी समूहका तर्फबाट विप्लवी न्यौपाने समेतले २६ फागुनमा रिट दायर गरेका थिए।
गत १९ फागुनमा संगठनको नाम स्वतन्त्र विद्यार्थी समूह राखी दर्ता गराएकोमा स्ववियु निर्वाचन समितिले आफ्नो नाम पृथ्वी विद्यार्थी मञ्च राखेर अन्तिम नामावली प्रकाशन गरेपछि पुरानै नाम कायम गरी पाउँ भनी सो विरोधमा विद्यार्थीको समूह अदालतको ढोकासम्म पुगेको थियो। मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसंघले डमी संगठन दर्ता गराएका थिए।
निर्वाचन समिति सदस्यसचिव रहेका बोधराज ढकालले विद्यार्थीको तालाबन्दीले चुनाव गराउन असहज स्थिति उत्पन्न भएकोले समितिले काम गर्न नसक्ने भनी क्याम्पस प्रमुख प्राडा सरोज कोइरालालाई पत्र बुझाएको बताए। क्याम्पसका उपप्राध्यापक एवं विद्यार्थी कल्याण प्रमुख बोधराज ढकालले चुनावको लागि पदेन सदस्यसचिव हैशियतमा निर्वाचन अधिकृतको कार्यालयमा जिम्मेवारी पाएका थिए।
तर ४ दिनदेखि निर्वाचन समितिमा तालाबन्दी त छँदैछ, त्यसमाथि असहज स्थिति उत्पन्न भएकोले आफूहरु जिम्मेवारीबाट बाहिरिएको बताउँछन्। ‘तालाबन्दीले सबै कागजातभित्र थुनिएका छन्। निर्वाचन समितिले पनि काम गर्न नसक्ने भनी पत्र बुझाइसकेको छ। यहाँ धेरै कुरा जेलिएका छन्,’ ढकाल भन्छन्।
निर्वाचन समिति र क्याम्पस प्रशासन मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली सार्वजनिक गरिएको भन्दै विद्यार्थी संगठनहरुले बिहीबार तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नेमा अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं, अखिल क्रान्तिकारी विप्लव र अखिल क्रान्तिकारी संयुक्त हुन्।
यता, आफूहरूको निष्ठामाथि प्रश्न उठाएको निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ। आफूहरुले विद्यार्थी विवरण चुनाहट नगरेको निर्वाचन समितिको दाबी छ। चुनावका लागि प्राडा विकास केसी निर्वाचन अधिकृत रहेको समिति गठन गरिएको थियो। पृथ्वीनारायण क्याम्पसमा मतदाता १० हजार ८ सय ७० छन्। समस्या के कसरी सुल्झाउन सकिन्छ भन्नेबारे छलफल गर्न क्याम्पस प्रमुख प्राडा कोइराला आइतबार त्रिभुवन विश्वविद्यालय काठमाडौंतिर लागेका छन्।
पोखरामा पृथ्वीनारायण क्याम्पसहित यहाँका ६ क्याम्पसमा स्ववियु निर्वाचनको तयारी हो। शनिबार नर्सिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा मनोनयन दर्ता भए पनि अन्यमा हुन नसकेको छैन।
पोखराकै जनप्रिय क्याम्पस, संस्कृत विद्यापीठ, वन विज्ञान अध्ययन संस्थानमा पनि विवाद कायमै छ। संस्कृत विद्यापीठमा पनि आइतबार विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 