तस्बिर स्रोत : हनिनाइन
काठमाडौँ- नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अस्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्।
लामो समयदेखि सन्तान प्राप्तिका लागि संघर्ष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अस्ट्रेलियादेखि नेपाल आएका थिए।
चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आईभीएफकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराइन्।
त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि सिंह दम्पतीले अस्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएका थिए।
अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान् योगेशले बताए। निर्धारित मितिभन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ।
योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरूको तौल कम हुँदा अस्पतालले विशेष निगरानी र हेरचाह गर्नुपरेको हो। एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ।
अस्ट्रेलियामा महिलाहरूको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने न्युजपोर्टलले नेपालकी अरुणा सिंह र योगेशले अष्ट्रेलियामा जम्ल्याह सन्तान जन्माएको विषयलाई रोचक ढंगले प्रस्तुत गरेको छ।
उनीहरूले आफ्ना सन्तानको न्वारान पनि गरिसकेका छन्। तीन छोराको नाम क्रमशः आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन्।
अस्ट्रेलियामा चम्ल्याहा सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ। उक्त अनलाइनका अनुसार पछिल्लो ४ वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरूमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो।



