धर्मसम्बन्धी सामाजिक सञ्जालमा आएका विववरणप्रति सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १६ चैत २०७९ २०:०० | Thursday, March 30, 2023
धर्मसम्बन्धी सामाजिक सञ्जालमा आएका विववरणप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ- जनगणनाको नतिजामा जातजाति, भाषा तथा धर्मको तथ्यांक सम्बन्धमा सामाजिक सञ्जालमा आएका विवरणप्रति सरकारको ध्यानाकर्षण भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका विवरणप्रति ध्यानाकर्षण भएको जानकारी गराएको हो। ‘जनगाणनाको नतिजा सार्वजनिक भएसँगै जातजाति, भाषा तथा धर्मको विवरण सार्वजनिक नभएको विषय र धर्मको बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरूमा कार्यालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला व्यक्ति तथा संस्थाहरूबाट करिब ७० वटा माग तथा ध्यानाकर्षण पत्र कार्यालयमा दर्ता भएको पनि कार्यालयले जानकारी दिएको छ। उक्त पत्र तथा ध्यानाकर्षणमाथि पनि छलफल भइरहेको कार्यालयको भनाइ छ। ‘साथै जातजातिसँग सम्बन्धित संवैधानिक आयोगहरू तथा भाषा आयोगसँग प्रत्यक्ष छलफल गरी सुझाव समेत लिने कार्य भइरहेको छ,’ कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

कार्यालयमा दर्ता मागपत्रमा थरलाई जात कायम गर्ने, जातअनुसार मातृभाषा कायम गर्ने, ठाँउ अनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका केही जातजाति जोडिदिन र केही जातजाति अलग्गै कायम गरिदिन माग गरिएको छ।

सोहीअनुसार जातजाति, भाषा तथा धर्मसम्बन्धी विवरणहरूलाई अन्तिमरूप दिने तयारी भइरहेको कार्यालयले बताएको छ। ‘धर्मसम्बन्धमा २०७८ सालको जनगणना अनुसार विभिन्न धर्मको विवरण भनि केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा आएका समाचार पूर्णरूपमा गलत, भ्रामक तथा अन्योल सृजना गर्ने खालका भएकोले त्यस्तो भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिमरूप दिने काम भइरहेकाले र चाँडै तथ्यसहितका विवरण सार्वजनिक गरिने कार्यालयले जानकारी दिएको छ।

यसअघि चैत १० गते जनगणनाको नतिजा सार्वजनिक गरिएपछि सामाजिक सञ्जालमा हिन्दु धमर्मावलम्बीको संख्या घटेको र अन्य धर्मावलम्बीको संख्या ह्वात्तै बढेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित: १६ चैत २०७९ २०:०० | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast