त्रिदेशीय कप : भुटानमाथि लाओसको साँघुरो जित

हिमाल प्रेस ११ चैत २०७९ २१:२० | Saturday, March 25, 2023
त्रिदेशीय कप : भुटानमाथि लाओसको साँघुरो जित

काठमाडौँ- बौनफाचन बौनकोङले दुई गोल गरेपछि लाओसले काठमाडौँमा जारी प्रधानमन्त्री त्रिदेशीय कपमा भुटानमाथि २–१ को जित दर्ता गरेको छ। पहिलो खेलमा घरेलु टिम नेपालसँग २–० को पराजय भोगेको लाओसले भुटानलाई पन्छाएसँगै फाइनलमा पुग्ने सम्भावनालाई जीवित बनाएको छ।

दशरथ रंगशालामा शनिबार साँझ लाओसले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। बल लिएर भुटानको पेनाल्टी क्षेत्रमा पुगेका बौनकोङले आत्मविश्वासका साथ गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलको सुरुवातमै एक गोलले पछि परेको भुटानले आधा घण्टापछि बराबरी गोल फर्कायो। यो गोलको मुभ कप्तान चेन्चो ग्याल्ट्सेनबाट सुरु भएको थियो। उनले लिएको लामो पास भेट्न लाओसको बक्समा पुगेका किन्जाङ तेन्जिङलाई लाओसका फोन्साक सिसाभाथले ट्याकल गर्दै बल खोेसेका थिए।

सिसाभाथबाट आएको बल फौथाभोङ साङभिलेले मैदानको मध्यभागतिर पठाइदिए। तर बल भुटानका निमा वाङ्दीले भेटे र चेन्चोतिर फर्काइदिए। बल नियन्त्रणमा लिँदै चेन्चोले वानटच गोल गरे।

दोस्रो हाफको ७१ औँ मिनेटमा लाओस अग्रता पुनः स्थापित गर्न सफल भयो। कप्तान सौकाफोन भोङचिङखामले दिएको लामो पासलाई भुटानी बक्सतिर दौडिएका बौनकोङले पहिलो ‘भली’ गोलमा परिणत गरे।

भुटानले आफ्नो दोस्रो खेलमा अब नेपालको सामना गर्नेछ। आउँदो मंगलबार हुने यो खेल जिते नेपाल फाइनलमा पुग्नेछ।

प्रकाशित: ११ चैत २०७९ २१:२० | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast