त्रिदेशीय कपको उपाधि नेपाललाई

हिमाल प्रेस १७ चैत २०७९ १९:३५ | Friday, March 31, 2023
त्रिदेशीय कपको उपाधि नेपाललाई

काठमाडौँ- नेपालले प्रधानमन्त्री कप त्रिदेशीय कपको उपाधि जितेको छ। दशरथ रंगशालामा शुक्रबार लाओसलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो। एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै विजयी बनेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले एक-एक गोल गरे। पाहुना टिम लाओसका लागि फाउथाभोङ साङभिलेले सुरुवाती गोल गरेका थिए।

लाओसले पहिलो हाफको १७ औँ मिनेटमा अग्रता लिएको थियो। बौनफाचान बौनकोङको लामो पासलाई नेपालको बक्समा ‘अनमार्क्ड’ रहेका साङभिलेले वान टच गोल गरेका थिए। बौनकोङले दिएको पासमा नेपालका मणि कुमार लामासँग ‘डिफ्लेक्ट’ हुँदै पेनाल्टी बक्समा पुगेको थियो।

गोल खाएको सात मिनेटपछि नेपाल खेलमा फर्किएको थियो। अनन्त तामाङको तामाङले प्रहार गरेको लामो फ्रिकिकबाट आएको बललाई मनिषले हेड गरेका थिए। त्यसपछि लाओसका चान्थाभिक्से खौन्थौम्फोनले सो बल क्लियर गर्ने खोजे। तर बल एरिक विष्टले भेटे र लेफ्ट विंगमा रहेका आयुषलाई उपलब्ध गराए। आयुषले बक्सभित्रबाट दोस्रो टचमा गोल गरे।

नेपालले ८७ औँ मिनेटमा अग्रता लियो। नवीन लामाबाट आएको बललाई अन्जन विष्टले मनिष भएतिर पठाइदिएका थिए। त्यसपछि मनिषले बल लाओसको बक्सभित्र पुर्‍याउँदै सुन्दर गोल गरे।

नेपाल पहिलो खेलमा लाओसलाई पराजित गरेर र दोस्रो खेलमा भुटानसँग बराबरी खेलेर फाइनलमा प्रवेश गरेको थियो। उता लाओस भुटानमाथिको जितले उपाधि भिडन्तमा आइपुगेको हो।

लाओसमाथि नेपालको यो तेस्रो जित हो। सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई ट्राइब्रेकरमा पन्छाएको थियो।

त्रिदेशीय कप जितेसँगै नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले नेपालमा पहिलो खुड्किलो अपराजित रहँदै पार गरेका छन्। गत फागुन १७ गते इटालेली एनिस मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

प्रकाशित: १७ चैत २०७९ १९:३५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast