तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

हिमाल प्रेस ८ चैत २०७९ १५:३७ | Wednesday, March 22, 2023
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ

काठमाडौँ- नागरिकतासम्बन्धी अपराधमा संलग्न पाँच जना पक्राउ परेका छन्। आज बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते दिउँसो काठमाडौँको बबरमहलस्थितबाट कृष्णबहादुर कटवालसहित ५ जनालाई पक्राउ गरेको थियो। उनीहरूले निश्चित रकमको चलखेल गरी विभिन्न सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुटा लिखित तथा नक्कली कागजात बनाएको सूचना पाएपछि प्रहरीले यसबारे अनुसन्धान थालेको थियो।

कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्ने कार्य गर्दै आएका प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजातहरू किर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित फेला पारी निजहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुरमा आवश्यका कारबाहीका लागि जिल्ला परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

उनका अनुसार कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैर नेपाली विशेष गरी तिब्बतीयन शरणार्थीहरूको सक्कली नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बुबाको रुपमा उपस्थित गराइ सनाखत गराउने गरेको पाइएको छ।

पक्राउ परेका न्युल्केश श्रेष्ठलाई नक्कली बुबा बनाउने गरेको खुलेको छ। श्रेष्ठले हालसम्म गैर नेपाली तिब्बतीयन व्यक्तिहरू सोनाम छोल्तेल, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कली नागरिकता बनाउन नक्कली बुबा बनि सहयोग गरेको खुलेको छ।

उनले नक्कली बुबा बनेर ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ। पक्राउ परेका लोब्साङले तिब्बेतियन क्याम्पमा नै बस्दै आएका र २०७९ साल फागुन ३० गते जिप्रका काठमाडौँबाट लोब्साङले गुरुङको नामबाट स्थायी ठेगाना काठमाडौँ महानगर १७ राखेर नेपाली नागरिकता लिएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा ४७ वर्षका कृष्णबहादुर कटवाल, वर्ष ७० का न्युल्केश श्रेष्ठ, हिरालाल शिवाकोटी (४९), लोब्साङ ठिन्ले (वर्ष २५) र ३० वर्षीय विजय लामा रहेका छन्। उनीहरूको साथबाट प्रहरीले स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयको छाप ४ थान, ई-पासपोर्ट एक्लिकेशन फर्म २ थान, नागरिकता, जन्मदर्ता, लाइसेन्स् लगायतका परिचय पत्रको फोटोहरू पाँच सय थान, नेपाली नगद ३ लाख ५० हजार ५ सय र ७ थान मोबाइल बरामद गरेको छ।

प्रकाशित: ८ चैत २०७९ १५:३७ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast