 
                             
                                            तनहुँ– १ सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ। जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको हो।
महिला कैदीबन्दी रहेको ब्लकमा टेलिभिजन नभएको र उनीहरूलाई समसामयिक गतिविधि जान्ने अधिकार प्राप्त भएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए।
‘महिला कैदीबन्दीका लागि टेलिभिजन नगर उपप्रमुख इन्दिरा दरैलगायत व्यास नगरपालिकाका जनप्रतिनिधिले आज कारागारलाई हस्तान्तरण गर्नुभएको छ,’ अधिकारीले भनिन्।
नगरपालिकाले ३२ इन्चको टेलिभिजन महिला कैदीबन्दीको ब्लकका लागि सहयोग गरेको उनले बताए।
महिला बन्दीगृहमा रहेर विविध मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीलाई देशको गतिविधि तथा खेलकुदका गतिविधि हेर्न, बुझ्न पाउने अधिकारलाई पूर्ति गर्न नगरपालिकाले सहयोग गरेको व्यास नगरपालिकाका उपमेयर दरैले जानकारी दिइन्।
‘केही दिनअघि मात्रै कैदीबन्दीको अवस्था अनुगमन गर्ने क्रममा महिला कैदीबन्दीले माग गरेपछि आज सहयोग गरेका हौँ,’ उनले भनिन्, ‘गल्तीको सजाय भोगिरहेका कैदीबन्दीले मानवअधिकारअुनसारको सेवा पाउनुपर्छ भनेर नगरपालिकाबाट सहयोग गर्ने व्यवस्थापन गरेका हौँ।’
जिल्ला कारागार तनहुँमा ३ वटा ब्लकमा कैदीबन्दी रहेका छन्। ए र बी ब्लकमा पुरुष कैदीबन्दी रहेका छन् भने सी ब्लकमा महिला कैदीबन्दी राखिएको छ। महिला १६ र पुरुष २ सय ८६ कैदीबन्दी रहेको जिल्ला कारागार तनहुँले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 