 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            तनहुँ- चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। २०७४ फागुन ९ गतेदेखि हालसम्म ५ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठ रहेका छन्। त्यसै गरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको वन डिभिजन कार्यालयले जनाएको छ।
चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए।
त्यसै गरी यसै आर्थिक वर्षमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन्। त्यसमा बाख्रा ६९, बंगुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन्।
त्यसै गरी चार रतुवा मृग, एक अजिंगरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए।
प्रत्येक पालिकामा पानीको पोखरी निर्माण कार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उनले बताए। खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माण कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 