जसपाको विधान मस्यौदा तयार

हिमाल प्रेस २ चैत २०७९ ८:५७ | Thursday, March 16, 2023
जसपाको विधान मस्यौदा तयार उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो विधान मस्यौदा तयार गरेको छ। गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।

सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो। समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए।

उनले भने, ‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण गरी यही चैत १५ गतेसम्म आवश्यक सुझाव पठाउनका लागि हामीले निर्देशन दिएका छौँ।’

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय संगठनका सदस्यलाई समेत आवश्यक सुझावका लागि पठाइएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए।

जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन, अन्तरक्रिया र छलफल गर्न सातवटै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गर्नसमेत निर्देशन दिएको बताइएको छ। विधान मस्यौदासम्बन्धी सुझाव संकलन गर्न आयोजना गरिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मस्यौदा समितिका तर्फबाट सहभागी हुनका लागि नेताहरूको जिम्मेवारीसमेत तोकिएको छ।

कोसी प्रदेशका लागि कार्यकारिणी सदस्य रकम चेम्जोङ, मधेस प्रदेशका लागि कार्यकारिणी सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशका लागि राजनीतिक समितिका सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशका लागि कार्यकारिणी सदस्य शिवलाल थापा रहेका छन्।

यसैगरी बागमती प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपक राई, सुदूरपश्चिम प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपेन्द्र झा र जनवर्गीय, बौद्धिक पेसाकर्मी, विज्ञलगायतसँग छलफल गर्न कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

प्रकाशित: २ चैत २०७९ ८:५७ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast