जब चितुवा कालिज फार्ममा पस्यो …

हिमाल प्रेस १ चैत २०७९ १६:२१ | Wednesday, March 15, 2023
जब चितुवा कालिज फार्ममा पस्यो …

पोखरा– फेवाताल किनार भकुन्डेस्थित कालिज फार्ममा बुधबार बिहान एक्कासि चितुवा पस्यो। तुल्सीकुञ्ज इको एन्ड वाइल्ड भिलेज, पोखरा १८ मा चितुवा पसेपछि त्यहाँ कार्यरत कर्मचारी डराए। सबैतिर हारगुहार चल्यो।

सम्बन्धित वन कार्यालय, प्रहरी कार्यालयलगायतमा खबर गरेपछि उद्धारका लागि वन कर्मचारी, वडा प्रहरी कार्यालय बैदामबाट सुरक्षाकर्मी आए।

वनका कर्मचारीले चितुवा समात्न खोजे पनि समाउन सकेनन्। फार्मको माथिल्लोपट्टिको च्यातिएको जालिबाट पसेको चितुवा भुइँमा झाडीभित्र लुकेरै बस्यो। स्थानीयको ठूलो हुलले चितुवा थपाउन खोजे।

फार्मको गेट खोलेर बाहिर पठाउन खोज्दा चितुवाले त्यहाँ कार्यरत कर्मचारी ३२ वर्षीय राजु तिमिल्सिनामाथि आक्रमण गर्‍यो।

चितुवाको चिथोराइबाट उनको निधार र गालामा चोट लागेको छ। त्यसपछि चितुवा अर्का कर्मचारी श्रीकृष्ण मल्ल ठकुरीमाथि जाइलाग्यो। २८ वर्षीय ठकुरीको पिठ्युँमा चोट लागेको छ।

२ जनालाई आक्रमण गरेको अनियन्त्रित चितुवा उफ्रिएर तल्लो फार्ममा जाँदा बिजुलीको पोलमा ठोक्किएर ढल्यो। केही समयपछि झाडीमा मरेको अवस्थामा फेला पर्‍यो।

यता चितुवा आक्रमणबाट घाइते तिमिल्सिना र ठकुरीको मेट्रो सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको फार्म सञ्‍चालक ध्रुव थापाले बताए।

तिमिल्सिना पोखरा १८ कै स्थानीय हुन् भने ठकुरी कास्कीको रूपा गाउँपालिका सातमुहाने देउरालीका हुन्।

उनका अनुसार अघिल्लो दिन हावाहुरीले फार्मको छानामा लगाएको जाली च्यातिएको रहेछ। त्यहीबाट चितुवा पसेको उनले बताए। ४ वर्षदेखि सञ्‍चालित सो कालिज फार्ममा अहिले १५ सय कालिज छन्।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले उद्धारका लागि आफ्नो कमान्डमा ७ जनाको प्रहरी टोली गएको बताए। उनले फार्मनजिकै झाडीमा मृत फेला परेको चितुवा वन कार्यालयको जिम्मा लगाइएको बताए।

प्रकाशित: १ चैत २०७९ १६:२१ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast