जनयुद्ध दिवसमा बिदा दिने क्यालेन्डर खारेज गर्ने ओलीको चेतावनी

हिमाल प्रेस १६ चैत २०७९ १६:४८ | Thursday, March 30, 2023
जनयुद्ध दिवसमा बिदा दिने क्यालेन्डर खारेज गर्ने ओलीको चेतावनी फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय मन्त्रिपरिषद्‍बाट पारित गरी सरकारको बार्षिक क्यालेन्डरमा समेटेकोप्रति ओलीले आपत्ति जनाए।

त्यस दिनलाई राष्ट्रिय उत्सवका रूपमा बिदा किन दिइएको हो? भन्दै उनले प्रश्न गरे। वार्षिक क्यालेन्डरमै सो दिन सार्वजिनक बिदा दिने निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिएको सो दिवस क्यालेन्डरबाट हटाउने उनले चेतावनी दिए।

कार्यक्रममा उनले मिटरब्याज कारोबार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताउँदै उनले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उल्लेख गरे।

ऋण पायो भन्दै जहाँतहीँबाट लिन नहुने उनको भनाइ छ। आम नागरिकहरू बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने उनले स्पष्ट पारे।

‘हामीले मिटरब्याजपीडितहरूबारे सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो पर्‍यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरूले पनि हुनु हुँदैन,’ उनले भने।

प्रकाशित: १६ चैत २०७९ १६:४८ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast