 
                            
                                            काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लागेको थियो, किलियान एम्बाप्पेलाई फकाएर क्लबमै राख्न सकियो भने च्याम्पियन्स लिग जित्न सकिन्छ। पीएसजीले उनलाई सम्झौता नवीकरण गर्न त मनायो तर च्याम्पियन्स लिगमा सफलता यसपालि पनि पाउन सकेन। एम्बाप्पेलाई केन्द्रमा राखेर बलियो टिम निर्माण गर्न नसकेको पीएसजी अन्तिम १६ बाट बाहिरिएको छ।
पीएसजीलाई बुधबार राति बायर्न म्युानिखले २–० ले पराजित गर्यो। जर्मन भूमिमा भोगेको यो हारले पीएसजीलाई क्वार्टरफाइनल पुग्न दिएन। पीएसजीले यसअघि आफ्नै मैदानमा पहिलो लेगको खेलमा १–० ले गुमाएको थियो। समग्रमा ३–० को पराजय भोगेपछि पीएसजी सात वर्षमा पाँचौँ पटक अन्तिम १६ बाटै बाहिरिएिको हो।
पीएसजी सन् २०२० मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो। कोभिड–१९ महामारीका कारण सुनसान रंगशालामा खेलाइएको फाइनलमा पीएसजी संयोगवश बायर्नसँगै पराजित भयो। गत सिजन सेमिफाइनल पुग्न भने पीएसजीलाई बायर्नलाई नै निराश बनाएको थियो।
कतारी स्वामित्वमा पीएसजीले फ्रेन्च लिग वानमा दबदबा कायम गरेको छ। यद्यपि च्याम्पियन्स लिग जित्ने सपना भने पूरा हुन सकेको छैन। युरोपियन क्लब फुटबलका ठूला शक्तिहरूलाई पन्छाउँदै च्याम्पियन्स लिग जित्न पीएसजीले खेलाडी सरुवा बजारमा प्रशस्त खर्च गर्न गरेको छ।
माउरिसियो पोचेटिनोको स्थानमा ल्याइएका प्रशिक्षक क्रिस्टोफ गाल्टियर र प्रसिद्ध स्काउट लुइस काम्पोस मिलेर पीएसजीमा बलियो टिम निर्माण गर्ने आशा गरिएको थियो। भिटिन्हा र फाबियान रुइज अअनुबन्ध गर्दै पीएसजीले रणनीति परिवर्तन गरेको सन्देश पनि दिएको हो। तर यसले पनि पीएसजीलाई फल दिन सकेन, कम्तीमा युरोपेली क्लब फुटबलमा।
प्रशिक्षक गाल्टियर केही मुख्य खेलाडीको अनुपस्थिति पीएसजी हार्नुको मुख्य कारण रहेको बताउँछन्। ‘यो हारको सन्देश बृहत् छैन। यो त बस यही सिजनको कथा मात्र हो। जहाँ हामी केही मुख्य खेलाडीबिना मैदान उत्रिरहेको छौँ। बायर्नसँगको दुवै लेगमा हामीले अत्यन्तै कमजोर टिम खेलाउन बाध्य भयौँ,’ हारपछि गाल्टियरले भने।
गाल्टियरको तर्कमा सत्यता छ। एम्बाप्पे पहिलो लेगको दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए। नेयमार दोस्रो लेगमा थिएनन्। उनीसँगै प्रिन्सेल किम्पेम्बे पनि घाइते छन्। त्यसैगरी कप्तान मार्किन्योस र अर्का रक्षक नोर्डी मुकिएले बुधबारको खेलमा घाइते भए।
‘यो सिजन हामी व्यस्त भइरहेका छौँ। यसकारण खेलाडीमाथि बढी भार छ। उनीहरू बारम्बार घाइते भइरहेका छन्। बीचमा विश्वकप थियो। त्यसले गर्दा धेरै खेलाडी पहिल्यैबाट थकित भए। च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल खेलका लागि सबै खेलाडीलाई तन्दुरुस्त राख्न सकिएन भने गाह्रो हुन्छ। हामीलाई त्यही भयो,’ गाल्टियरले भने।
पीएसजीले लियोनल मेस्सी र एम्बाप्पेको जोडीले म्युनिखमा जित दिलाउने अपेक्षा राखेको थियो। तर यी दुईले खेलमा प्रभाव जमाउन सकेनन्। एम्बाप्पेले त जम्मा ३२ पटक मात्र बल छुन पाए।
‘मैले पहिले पनि भनेको थिए, हामी च्याम्पियन्स लिगमा सकेको मेहनत गर्नेछौँ भनेर। सत्य के हो भने, हामीले सकेको यति नै हो,’ एम्बाप्पेले भने। च्याम्पियन्स लिगबाट चाँडै बाहिरिएपछि एम्बाप्पेको भविष्यमाथि एकपल्ट फेरि प्रश्न उठ्ने देखिन्छ।
कयौँको प्रश्न छ, पीएसजीले किन पर्याप्त खेलाडी अनुबन्ध नगरेको, ताकि केही खेलाडी घाइते हुँदा समस्या नहोस्। ‘पीएसजीको लक्ष्य च्याम्पियन्स लिग जित्ने हो भने, खेलाडी पनि त्यही अनुसारले अनुबन्ध गर्नुपर्छ। एउटा खेलाडीमाथि भर परुन्जेल पीएसजी सफल हुँदैन। एउटा खेलाडी होइन, समग्र टिम नै बलियो हुनुपर्छ,’ पीएसजीका पूर्वखेलाडी डेभिड जिनोलाले भने।
जिनालेले भने जस्तै पीएसजीले बलियो टिम निर्माण गर्न नसक्नुको कारण हो, बजेट। कतारी स्वामित्वकर्ताले जति पनि बजेट उपलब्ध गराउन त सक्छन्। तर पीएसजीले भने जति खर्च गर्न सक्दैन। एम्बाप्पेको सम्झौता नवीकरणका लागि ठूलो खर्च भइसकेको र युरोपेली फुटबल महासंघ (यूएईएफए) ले बनाएको वित्तीय नियम उल्लघंन हुने खतरा रहेकाले पीएसजीले गत जनवरीमा नयाँ रक्षक अनुबन्ध गर्न सकेन।
नयाँ सिजनका लागि टिम पुनः निर्माण गर्दा पीएसजी चनाखो हुनुपर्नेछ। पछिल्ला खबर अनुसार पीएसजी मेस्सीलाई नयाँ सिजनका लागि क्लबमा राख्न चाहन्छ। तर आगामी जुनमा ३६ वर्ष पुग्ने मेस्सीको स्थानमा नयाँ युवा फरवार्ड ल्याउनु वा बजेट अन्य पोजिसनका खेलाडीमाथि खर्च गर्नु नै पीएसजीका लागि बुद्धिमता निर्णय हुने बताइन्छ।
उसो त प्रशिक्षक गाल्टियरकै जागिर सुरक्षित छैन। गाल्टियर आफैँलाई थाहा छ, पीएसजीमा घरेलु लिग उपाधि जित्नु आधा सफलता हो, पूर्ण होइन। ‘हामी सबैलाई थाहा छ, च्याम्पियन्स लिग पीएसजीका लागि कति महत्त्वपूर्ण छ भनेर। यो टिममाथि ठूलो भरोसा छ। तर दुई लेगमा सबै मुख्य खेलाडीलाई खेलाउन नपाउनु हाम्रो दुर्भाग्य थियो,’ गाल्टियरले भने।
के पूर्ण क्षमताको पीएसजीले बायर्नलाई हराउने वा च्याम्पियन्स लिग जित्ने थियो? यो प्रश्नको जवाफ खोज्दा पीएसजीले विगतमा गरेको प्रदर्शनलाई पनि सम्झिन आवश्यक छ। पीएसजीले पछिल्ला ११ सिजनमा सात पटक मात्र दुई लेग भएको नकआउट प्रतिस्पर्धा जितेको छ। ‘पीएसजीले विगत १० वर्षमा नसिकेको पाठ २०२३ मा सिक्ने सम्भावना छैन। च्याम्पियन्स लिगमा हार्नु पीएसजीका लागि संस्कृति हो,’ फ्रेन्च पत्रकार भिन्सेन्ट डुलुकले एल इक्यिुपमा लेखेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 