 
                             
                                            काठमाडौँ- चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्। रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका छन्।
शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताए। ‘पत्रकारिता र चलचित्र निर्माणबाट संगालेको अनुभवले यहाँ काम गर्नेछु, बाहिर हुँदा देखेको समस्यालाई समाधान गर्ने स्थानमा पुगेको छु’, सदस्य अधिकारीले भने। गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्षसमेत रहेका सदस्य बुढाथोकीले थारू भाषाको चलचित्र ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेको छ। यस्तै चलचित्र पत्रकार संघ नेपालको चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन्।
अधिकारीले ‘पञ्चायत’ र ‘बाबु कान्छा’ निर्माण गरेका छन्। बोर्डमा अझै एक सदस्य र केन्द्रीय चलचित्र जाँच समितिमा तीन सदस्य नियुक्त हुन् बाँकी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 