कोशी प्रदेशको नामविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ, विराटनगरमा हवाई फायर

हिमाल प्रेस ५ चैत २०७९ १६:३८ | Sunday, March 19, 2023
कोशी प्रदेशको नामविरुद्ध प्रदर्शन गर्ने चार जना पक्राउ, विराटनगरमा हवाई फायर

इटहरी– कोशी प्रदेशको नामविरुद्ध प्रदर्शन गर्ने चार जनालाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ। कोशी प्रदेशको नाम पहिचानका आधारमा नभएको भन्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

विराटनगरमा स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयनजिकै प्रदर्शन गर्नेमध्ये चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र ३ राउन्ड हवाई फायर गरेको छ।

यही फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ। त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै पहिचानवादी विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्।

प्रदेशको नामकरणविरुद्ध आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको छ।

संघीयता जारी भएको आठ वर्षपछि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको पहलमा प्रदेशको नामकरण भएको हो। यसअघि प्रदेशमा पाँच जना मुख्यमन्त्री फेरिँदा पनि नामकरण हुन नसकेपछि नेतृत्वको आलोचना हुँदै आएको थियो।

प्रकाशित: ५ चैत २०७९ १६:३८ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast