पर्सा- पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज उपलब्धता भएसँगै पाटेबाघसहितका वन्यजन्तुको संख्या वृद्धि भएको छ। सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटेबाघको संख्या ४१ पुगेको छ।
निकुञ्जले निकुञ्ज क्षेत्रभित्र कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको संख्या बढ्दै गएको हो। निकुञ्जभित्र १६३ गौरीगाईं, ४०-५० जंगली हात्ती र आठदेखि १० को संख्यामा एकसिँगे गैँडा रहे पनि तथ्यांकमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए।
निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरूको संख्या वृद्धि भएको उनले बताए।
सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जंगली कुकुर, नीलगाईं र गौरीगाईं जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ।
निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जंगल क्षेत्रलाई समेटेर बनाइएको हो।

                                             
                                             
                                             
                                             
                                             
                                             

