कान्छी सांसदको गुनासो : चुनाव भएको चार महिनासम्म जनअपेक्षाअनुसार काम नभएको आभास भयो

हिमाल प्रेस १२ चैत २०७९ १५:३९ | Sunday, March 26, 2023
कान्छी सांसदको गुनासो : चुनाव भएको चार महिनासम्म जनअपेक्षाअनुसार काम नभएको आभास भयो

काठमाडौँ- प्रतिनिधिसभाकी कान्छी तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले निर्वाचनपछि जनअपेक्षाअनुसारको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘म यो सदनमा उमेरको हिसाबले कम उमेरको सांसद। कान्छी सांसदको रुपमा मेरा अग्रजबाट केही सिक्न सक्छु भनेर ध्यान दिएर नियालीरहेको छु, अध्ययन गरिरहेको छु,’ उनले भनिन्, ‘चार महिना भयो निर्वाचन सम्पन्न भएको। जनताले जुन अपेक्षा लिएका थिए त्यसमा हामी खडा हुन नसकेको आभास हुन थालेको छ। राजनीतिले लिएको मोडको बारेमा हामी जानकारी नै छौँ। तर सधैँ राजनीतिको मोडलाई देखाएर पन्छिन मिल्दैन।’

उनले प्रतिनिधिसभाको आफ्नै क्यालेन्डर (पात्रो) हुनुपर्नेबारे पनि सभामुखको ध्यानाकर्षण गराइन्।
सभामुखलाई प्रश्न गर्दै उनल् भनिन्, ‘कति दिनभित्र प्रतिनिधिसभाको नियमावली पास हुन्छ?, कति दिनभित्र संसदीय समिति बन्नेछन्? कति दिनभित्र संविधानले परिकल्पना गरेअनुसार काम हुन्छ?’

उनले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालय सम्हालेको बेला ती मन्त्रालयसम्बन्धित विषयबारे जनताले गरेको गुनासो राख्ने र नराख्नेबारे पनि आफू दोधारमा रहेको बताइन्। झापाका जनताले भोगेका समस्याबारे उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

भद्रपूरमा रहेको मेची अस्पतालमा सरकारी दरबन्दी खाली रहेको, नयाँ बनेको अस्पतालको भवन हस्तान्तरण नभएको, सरसफाइ तथा सेवा राम्रो नभएको भन्दै उनले यसको समाधान गर्न आग्रह गरिन्।

त्यस्तै उनले झापामा १५ वर्षमा ५२ नेपाली ५ विदेशीले ज्यान गुमाएको र अन्य विभिन्न क्षति भएको बारे पनि जानकारी गराइन्। हात्तीको आक्रमणबाट पीडितले राहत पाउन पनि पीडा भोग्नुपरेको गुनासो पनि पोखिन्।

प्रकाशित: १२ चैत २०७९ १५:३९ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast