कांग्रेसको निर्णयविरुद्ध एमालेले दियो उजुरी

हिमाल प्रेस २ चैत २०७९ ७:०८ | Thursday, March 16, 2023
कांग्रेसको निर्णयविरुद्ध एमालेले दियो उजुरी

काठमाडौँ- उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ। प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले कांग्रेसले आचारसंहिता विपरीत कार्य गरेको उल्लेख गर्दै एमालेले उजुरी गरेको जानकारी दिएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बर्तौलाले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गएरातिबाट निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा उपराष्ट्रपति पदका उम्मेदवार राम सहाय यादवको पक्षमा मत मागेको बताएका हुन्।

‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ। शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा कसैले मत माग्नु वा निर्वाचनलाई प्रभावित गर्ने गरि उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ। तर शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिता विपरित उपराष्ट्रपतिमा राम सहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ।’

उनले थपेका छन्, ‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ। यसले निर्वाचनको मर्यादा, स्वच्छ्ता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ। आचारसंहिता उल्लंघनको यस निर्णयप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं। यस बारेमा हामीले निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेका छौं।’

प्रकाशित: २ चैत २०७९ ७:०८ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast