कलाकार संघको अध्यक्षमा निरौला विजयी

हिमाल प्रेस ५ चैत २०७९ ७:५५ | Sunday, March 19, 2023
कलाकार संघको अध्यक्षमा निरौला विजयी

काठमाडौँ- कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्।

शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्। संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन्।

‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ। आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भने, ‘मैले घोषणा गरेका अधिकांश काम गर्नेछु। कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु।’

उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन्। सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए।

अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए।

झन्डै सात सय सदस्य रहेको संघको निर्वाचनमा ४६८ मतमात्र खसेको थियो।

प्रकाशित: ५ चैत २०७९ ७:५५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast