ऐतिहासिक बराबरीपछि भुटानी प्रशिक्षक पेमा भन्छन् : नेपालको खेल स्तर खस्किएछ

हिमाल प्रेस १४ चैत २०७९ २१:४६ | Tuesday, March 28, 2023
ऐतिहासिक बराबरीपछि भुटानी प्रशिक्षक पेमा भन्छन् : नेपालको खेल स्तर खस्किएछ

काठमाडौँ- दीपक राज सिंह ठकुरीले आतिरिक्त समयमा बराबरी गोल फर्काएपछि नेपाल प्रधानमन्त्री त्रिदेशीय कपको खेलमा भुटानसँग हारबाट जोगिएको छ। तेन्जिङ नोर्बुले पहिलो हाफको १९ औँ मिनेटमा हेडर गोल गरेपछि दशरथ रंगशालामा भुटान अघि बढेको थियो।

तर सब्स्टिच्युट दीपकले उत्तरार्द्धमा गोल फर्काएपछि नेपाल ऐतिहासिक हारबाट बच्यो। यद्यपि यो १–१ को बराबरी पनि भुटानका लागि ऐतिहासिक उपलब्धि मानिनेछ। किनभने भुटानले यसअघि नेपालसँग खेलेका १२ खेलमा जित वा बराबरीको नतिजा निकाल्न सकेको थिएन।

भुटानसँगको बराबरीपछि नेपाल आफैँले आयोजना गरिरहेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरेको छ। नेपालले शुक्रबार हुने फाइनलमा लाओसको सामना गर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो। लाओसले भने भुटानमाथि २–१ को जित दर्ता गरेको थियो।

सन् १९९९ यता पहिलो पटक दशरथ रंगशालामा नेपालविरुद्ध उत्रिएको भुटानले आकर्षक फुटबल खेल्यो। अन्तिमको २० मिनेटलाई छाड्ने हो भने भुटान घरेलु टिमभन्दा हरेक विभागमा बलियो देखियो। बल नियन्त्रणमा अब्बल र आत्मविश्वासी देखिएको भुटानले पहिलो हाफमा नेपाललाई पूर्णरुपमा दबाबमा राख्यो।

दोस्रो हाफ पनि बलियो ढंगले सुरुवात गरेको भुटानले गोल थप्ने केही अवसर पाएको थियो। तर भिन्सेन्जो अल्बर्टो एनिसले पाँच खेलाडी परिवर्तन गरेपछि नेपाल विस्तारै खेलमा फर्किएको थियो। नवयुग श्रेष्ठलाई प्रतिस्थापन गरेका मनिष डाँगी र अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका दीपकबीच अग्रपंक्तिमा राम्रो समझदारी स्थापित भएको थियो।

गाेलकर्ता दीपकका लागि याे राष्ट्रिय टिमबाट दाेस्राे खेल थियाे। उनले गत बुधबार लाओससँगकाे खेलबाट डेब्यु गरेका थिए।

खेलपछि नेपालका मुख्य प्रशिक्षक एनिसले नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको जिकिर गरे। ‘पहिलो हाफमा हाम्रो प्रदर्शन चित्तबुझ्दो थिएन। दोस्रो हाफमा भने हामीले सुधार गर्‍यौँ। कम्तीमा चार–पाँचवटा अवसर सिर्जना भए। बल नियन्त्रण गर्‍यौँ। फाइनलमा थप सुधार गर्नेछौँ,’ एनिसले भने।

उता भुटानका मुख्य प्रशिक्षक पेमा पेमाले ऐतिहासिक बराबरी गर्न सकेकोमा सन्तुष्टि व्यक्त गरे। ‘पहिले नेपालसँगका सबै खेल हारेका थियौँ। पहिलो पटक बराबरी गर्न सफल भयौँ। यसकारण उँचो शीर लिएर घर फर्कनेछौँ,’ पेमाले भने।

उनले नेपालको खेल स्तर खस्किएको अनुभव गरेकाे पनि बताए। ‘नेपालका धेरै खेलाडी विदेसीएका छन्। यसकारण यो टिममा नयाँ खेलाडीहरू छन्, प्रशिक्षक पनि नयाँ। टिममा तालमेल देखिएन। तालमेल मिल्न केही समय लाग्ला। समग्रमा भन्दा नेपालको स्तर खस्किएको छ। हामीले खेललाई पूर्ण रुपमा नियन्त्रणमा राख्यौँ,’ पेमाको भनाइ थियो।

प्रकाशित: १४ चैत २०७९ २१:४६ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast