अवैध क्रसर बन्द गराउन माग राख्दै सुनिल यादवले सुरु गरे आमरण अनशन

नेहा झा १७ चैत २०७९ १८:३५ | Friday, March 31, 2023
अवैध क्रसर बन्द गराउन माग राख्दै सुनिल यादवले सुरु गरे आमरण अनशन

जनकपुरधाम– चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले आमरण अनशन सुरु गरेका छन्। भूमिहीन तथा सुकुम्वासीहरूको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गर्न उनले शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन्।

सोही माग राखेर उनले ३७ दिनसम्म धर्ना बसे पनि यसप्रति सरकारले चासो नलिएपछि उनले अनशन सुरु गरेका हुन्। भूमिहीन तथा सुकुम्वासीहरू चुरे तथा वनजंगल संरक्षण अभियानअन्तर्गत रहेर जनआवाज आन्दोलन सुरु गरेर गत फागुन ११ गतेदेखि अनिश्चितकालिन धर्नामा बस्दै आएका थिए।

धर्नामा बसेको ३७ औं दिनसम्म पनि तीन वटै तहमहध्ये कुनै तहको सरकार आफूहरूको मागप्रति चासो नलिएपछि बाध्य भएर आमरण अनशनमा बस्न बाध्य भएको यादवले बताए।

‘हाम्रो मागप्रति सरकार गम्भीर देखिएन। नेपालमा माग सम्बोधन गराउन कि त मार्नु पर्ने कि त मर्नैपर्ने अवस्था आयो,’ उनले भने।

चुरे तथा वन जंगल संरक्षण अभियान र मधेश प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्नेलगायत माग रहेका छन्।

माग सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने बताउँदै उनले माग सम्बोधनका लागि आफ्नो प्राणको आहुति दिन तयार रहेको स्पष्ट पारे।

यस्तै भूमिहीन तथा सुकुम्वासीहरूले संविधानको व्यवस्थाअनुसार भूमि र आवासको सुविधा पाउनुपर्ने, वैदेशिक रोजगारीमा हुने ठगी र हैरानी अन्त्य गरिनुपर्ने, स्थानीय तह निर्वाचनमा गैरदलीय उम्मेदवार उठाइनुपर्ने, दलितका लागि राजनीतिक आरक्षण सुनिश्चित गर्नुपर्ने अभियन्ताहरूको माग छ।

प्रकाशित: १७ चैत २०७९ १८:३५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast