चितवन-२ उपनिर्वाचन : १८ वटा दल सूचीकृत, जसपादेखि नेकपा एससम्मले गरेनन् दल दर्ता

हिमाल प्रेस १६ फागुन २०७९ २१:०७
100
SHARES
चितवन-२ उपनिर्वाचन : १८ वटा दल सूचीकृत, जसपादेखि नेकपा एससम्मले गरेनन् दल दर्ता निर्वाचन आयोग

काठमाडौँ- आगामी वैशाख १० गते चितवन-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दलले दर्ता भएका छन्। फागुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा १८ वटा राजनीतिक दलले दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय गरेको थियो।

फागुन २० गतेसम्मलाई मनोनयनको मिति तोकिएको छ। प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

राष्ट्रिय मान्यता पाएका ७ दलमध्ये चितवन-२ को उपनिर्वाचनको प्रयोजनका लागि भने एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र दल दर्ता गरेका छन्।

आयोगका अनुसार जसपा, जनमत पार्टीले यहाँ दल दर्ता गरेका छैनन्। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले पनि दल दर्ता गरेको छैन। नागरिक उन्मुक्ति पार्टीले भने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।

आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस(बी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपालले दल दर्ता गराएका छन्।

प्रकाशित: १६ फागुन २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =