काठमाडौँ- नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहेको दाबी गरेकी छिन्। मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित ‘अल नेपाल ह्याकाथन कार्यक्रम’ कार्यक्रममा उनले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र भएको दाबी गरेकी हुन्।
नेपालमा डिजिटल प्रणाली सुरुवात गरे पनि त्यसको प्रयोगका लागि साक्षरता नरहेको उनले बताइन्। नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको दाबी गर्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको औंल्याइन्।
नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांक चोरी हुने खतरा रहेको उनले औंल्याइन्। हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ थियो। ‘हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइयो। जर्साबहरूको सबै इमेल देखाइयो मलाई। पर्सनल इमेल थियो’ उनले भनिन्, ‘तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ। त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ।’
साइबर सुरक्षाका लागि सरकारले केही पहल समेत गरेको भन्दै उनले यसको थप अनुसन्धानमा विद्यार्थी लागनुपर्ने उनले बताइन्।