बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु

हिमाल प्रेस १५ फागुन २०७९ १८:००
4
SHARES
बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु

बुटवल– बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ।

गत वर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पुर्‍याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निंग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम सुरु भएको हो।

पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीय बासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीव्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो।

प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए।

उनले आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम सुरु भएको जनाए।

उनले पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको बहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम सुरु भएको बतए।

अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिकी उपमेयर सावित्रादेवी अर्याले बताइन्।

पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाख रुपैयाँमा चेकड्याम, रिटर्निंग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्युनीकरण गर्ने गरी काम भइरहेको सहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीको भनाइ छ।

यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले उल्लेख गरे।

गत वर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो। १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो।

प्रकाशित: १५ फागुन २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =