काठमाडौँ- राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासिन देखिएको निष्कर्ष निकालेको छ।
समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सोमबार बसेको राष्ट्रियसभा बैठकमा पेस गरेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन २०७९ मा सो कुरा उल्लेख गरिएको हो।
कतिपय निर्देशन भने स्रोत तथा साधनको अभावमा पनि सरकारले कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ। उनले संसदीय समितिलाई ठोस रुपमा सरकारलाई निर्देशन दिनका लागि विज्ञहरूको समूह आवश्यक भएको पनि बताइन्।
समितिले दिएको निर्देशन कार्यान्वयनका लागि कानुनी व्यवस्थाको अपरिहार्यता रहेको पनि समितिले जनाएको छ।
‘समितिले दिएको निर्देशनको कार्यान्वयनको अवस्था, निर्देशन कार्यान्वयनमा देखिएका समस्या, कारणहरुको पहिचान गरी प्रभावकारी कार्यान्वयनका लागि सुझाव तथा सिफारिस यस प्रतिवेदनमा समेटिएको छ। हालसम्म समितिले दिएका निर्देशन कार्यान्वयन भए/नभएको बारेमा समितिले आफैं गम्भिर बनेको छ साथै संसदीय समितिको निर्देशन केवल नैतिक बन्धन मात्रै होइन,’ उनले भनिन्, ‘यो कानुनी बाध्यता पनि हो भन्ने कुराको अनुभूति दिलाउने कानुनी व्यवस्थाको अपरिहार्यता रहेको यस समितिको ठहर गरेको कुरा सम्माननित अध्यक्षमार्फत् सभामा निवेदन गर्न चाहन्छु। सरकारले समितिले दिएको निर्देशन कार्यान्वयनमा तत्परता देखाएको छैन।’
समितिले संघीय निजामती कर्मचारी ऐन, काठमाडौँ उपत्यका सफाइ, मेलम्ची खानेपानी निर्माणका क्रममा ज्यान गुमाएकाहरूको क्षतिपूर्तिलगायतका विषयमा सरकारलाई पुनः निर्देशन दिनुपर्ने अवस्था रहेका पनि स्पष्ट पारिन्।
राष्ट्रिय गौरवका आयोजनाहरू कार्यान्वयनका लागि सरकारलाई दिएको निर्देशन भने बजेटको अभावमा सम्बन्धित निकायलाई कार्यान्वयनमा लैजान समस्या हुने गरेको निष्कर्ष पनि समितिले निकालेको सभापति रावलले बताइन्।