सरकारमा माओवादी र जनमत मात्र, मन्त्रिपरिषद्‌ सात सदस्यीय

हिमाल प्रेस १५ फागुन २०७९ १३:५१
148
SHARES
सरकारमा माओवादी र जनमत मात्र, मन्त्रिपरिषद्‌ सात सदस्यीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- पुस १० गते पाँच दलीय गठबन्धनसहित बनेको सरकार अब दुई दलीय बनेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेको दल नेकपा एमालेले सोमबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकार दुई दलीय बनेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी यसअघि नै सरकारबाट बाहिरिएका छन्। एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेको उपपप्रधानन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।  उनले भने, ‘बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने  र सरकारबाट अलग हुने निर्णय गरेको छ। हामीले विशिष्ट परिस्थितिमा यो  सरकारमा सहभागी भएका थियौँ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। सरकारमा माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन्। पुस ११ गते माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मिलेर सरकार गठन भएको थियो।

पहिलो चरणमा माओवादीबाट ‘प्रचण्ड’ प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएका थिए भने एमालेबाट विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई मन्त्री भएका थिए।  यस्तै रास्वपाबाट रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए। जनमत पार्टीका अब्दुल खान मन्त्री भएका थिए।

माघ २ गते मन्त्रिपरिषद् विस्तार गरी सबै मन्त्रीको जिम्मेवारी तोकिएको थियो। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सामेल भएको थियो। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी फागुन १३ गते सरकारबाट बाहिरिएको छ।

प्रतिनिधिसभामा रहेका १२ दलमध्ये प्रचण्डलाई १० दल र सबै स्वतन्त्र सांसदहरूले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रचण्डलाई मत दिएका थिएनन्।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। सरकारबाट बाहिरिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने समर्थन फिर्ता लिएको छैन।

सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको एमालेको ७९ र राप्रपाको १४ सिट छ। यस्तै विश्वासको मत नदिएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एकएक सिट छ। सत्तामा रहेको माओवादीको प्रतिनिधिसभामा ३२ सिट र जनमत पार्टीको ६ सिट छ। यस्तै समर्थन जारी राखेका नेपाली कांग्रेसको ८८, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पाटीको तीन सिट छ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसद्‍बाट विश्वासको मत पाएका थिए। प्रचण्डको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो। प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए।

अब सरकार ७ सदस्यीय बनेको छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

राप्रपाले लियो सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता

 

 

प्रकाशित: १५ फागुन २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =