रिहा भए पल

हिमाल प्रेस १५ फागुन २०७९ १२:०३
18
SHARES
रिहा भए पल तस्बिर : गोपीकृष्ण चापागाईं

काठमाडौँ- बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज (सोमबार) ठीक एक वर्षपछि रिहा भएका छन्।

रिहा भएका शाहलाई स्वागत गर्न उनका समर्थकहरू तनहुँ कारागार पुगेका थिए। दाङ घर भएका पल आजै काठमाडौँ जाने बताइएको छ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइको फैसला सुनाएको थियो।

‘सुरु नवलपुर जिल्ला अदालतको उक्त फसला उल्टी भई पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ उच्चको आइतबारको फैसलामा भनिएको छ, ‘शाहलाई अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन।’

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएकोमा जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो।

सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए। नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पलविरुद्ध जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा गत वर्षदेखि मुद्दा चलेको थियो।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नाबालिगले पलविरुद्ध गत वर्ष फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

प्रकाशित: १५ फागुन २०७९ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =