
काठमाडौँ- शब्दाङ्कुर (साहित्यप्रधान मासिक) ले प्रकाशनको २२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कथा प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा धोबीघाट, ललितपुरका अजय रिसालको ‘मोबाइलको घण्टी’ले प्रथम स्थान, बेलका-२ उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ले द्वितीय र गोकर्णेश्वर-३ काठमाडौँका अज्ञात युवकको ‘दुर्व्यवहार’ले तृतीय स्थान प्राप्त गरेको प्रधानसम्पादक धीरकुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताका लागि प्राप्त कथाहरूको प्रारम्भिक छनोट सम्पादकहरू भोगेन्द्र लिङ्देन, गोविन्द घिमिरे र टेकेन्द्र चेम्जोङले गरेका थिए। अन्तिम छनोटकर्तामा डा. गणेशप्रसाद भट्टराई, सुदीप पोखरेल र गायत्री बिष्ट थिए।
सबै कथाबाट कथाकारको नाम, थर, ठेगाना हटाई कुनै पनि तरिकाले चिह्नित हुन नसक्ने गरी कोडिङ गरेर निर्णायकलाई निर्णयका लागि उपलब्ध गराइएको आयोजकले जनाएको छ। प्रथम हुने कथाकारलाई १० हजार रुपैयाँ, द्वितीय हुने कथाकारलाई ६ हजार रुपैयाँ र तृतीय हुने कथाकारलाई पाँच हजार नगद र प्रमाणपत्र दिइनेछ।
श्रेष्ठले भने, ‘प्राप्त कथामध्ये उत्कृष्ट दस कथालाई निकट भविष्यमा र बाँकी कथालाई क्रमशः प्रकाशन गरिनेछ।’ २०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको शब्दाङ्कुरको व्यवस्थापक तुलसी कन्दङ्वा हुन्।