रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय

हिमाल प्रेस १३ फागुन २०७९ १०:१२
30
SHARES
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई अघि सार्ने निर्णय गरेको छ। पार्टीको शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव सर्वसम्मत निर्णय भएको महतले जानकारी दिए। अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि पौडेलका पक्षमा सर्वसम्मत निर्णय भएको बताए।

पौडेल नेपाली कांग्रेसमा २०१७ सालपछि उदय भएका नेता हुन्। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले जेल हाल्दा पौडेल १६ वर्षका थिए। त्यसपछि उनी निरन्तर का्रग्रेसमा छन्। उनी कांग्रेसमा समन्यकारी भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित थिए।

नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए।  स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए। पौडेल २०२७ सालमा स्थापित नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन्।

उनी २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक बनेका थिए भने २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भएका थिए भने २०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भएका पौडेल ०५१ सालको प्रतिनिधिसभामा सभामुख भए। २०५६ को चुनावमा तनहुँ २ बाट तेस्रो पटक निर्वाचित भएका उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पौडेल ०६२ सालमा कांग्रेस महामन्त्री भए।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालय संयोजक भए। २०६३ सालमा शान्ति तथा पुनर्निमाणमन्त्री भएका पौडेल २०६४ सालमा कांग्रेसको उपसभापति भए।

यस्तै २०६४ को संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भएका थिए।

०६७ साउनमा प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए। संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो। आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर निस्किए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए। तर पौडेलकाे प्रधानमन्त्री बन्ने चाहना पूरा हुन सकेकाे थिएन।

प्रकाशित: १३ फागुन २०७९ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast