काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ। आज बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार परिवर्तित सन्दर्भमा छलफल गरी धारणा तय गर्न बैठक बोलाइएको हो। सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको छ।
पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए। यो गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी थिए।
राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।
शुक्रबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो।
राष्ट्रपतिको निर्वाचनका लागि पुरानो गठबन्धन तोडेर प्रचण्डले नयाँ गठबन्धन बनाएसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे आजको बैठकले निर्णय लिने छ।