बालेनलाई चिरीबाबुको प्रस्ताव : मेट्रो रेल ल्याऔँ

हिमाल प्रेस १२ फागुन २०७९ १३:५१
170
SHARES
बालेनलाई चिरीबाबुको प्रस्ताव : मेट्रो रेल ल्याऔँ

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरपालिकालाई यसको नेतृत्व लिन प्रस्ताव गरेका छन्।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)लाई भेट्न महानगर कार्यालय पुगेका महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै मेट्रो रेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘उपत्यका दुई महानगरबीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ। ललितपुर काठमाडौँको सहयात्री बन्छ। काठमाडौँ महानगरले यसको नेतृत्व गर्नुपर्छ।’

ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको बताए।

मेट्रो रेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोग मात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रस्ट पारे। उनले भने, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु किमार्थ ठीक हुँदैन’ काठमाडौँ उपत्यका बस्न योग्य सहर बनाउन मेट्रो रेल नल्याई सुखै छैन।’ उनले मेट्रो रेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताए।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताए।

उनले भने, ‘अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौँ।’ काठमाडौँ महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको काठमाडौँ महानगर प्रमुख शाहले जानकारी दिए।

उपत्यकाकालाई बस्न योग्य सहर बनाउन मेट्रो रेल अत्यावश्यक भएकोमा जोड दिँदै यो दीर्घकालीन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उनको भनाइ थियो। बालेन्द्रले भने, ‘योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चारवर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन।’

उपत्यकालाई बस्न योग्य सहर बनाउन सहर बनाउन मेट्रो रेल ल्याउनैपर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताए। उनले भने, ‘‘उपत्यकाकोे ट्राफिक व्यवस्थापन गर्न तत्काल काम सुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ, उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ।’

प्रकाशित: १२ फागुन २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =