बाइसेचौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको बाँगेकोट

हिमाल प्रेस १२ फागुन २०७९ ११:५७
14
SHARES
बाइसेचौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको बाँगेकोट

गण्डकी- सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट ८ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्त्वपूर्ण धार्मिक तीर्थस्थल हो। यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ। नेपालका बाइसेचौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो।

प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्त्वपूर्ण रहेको स्थानीय पूर्णवीर गुरुङ बताउँछन्। फेदीखोला गाउँपालिका–५ मा रहेको यस स्थल पुग्न विभिन्न मार्ग प्रयोगल गर्न सकिन्छ। खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ। बाँगे गाउँमा रहेको रङ्गुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो।

कोटको दक्षिण भागका रङ्गुवावासीले यसलाई रङ्गुवाकोट भन्दछन्। पूर्वी भाग भाटखोला, आरुखर्क र फेदीखोलाका बासिन्दाले बाँगेकोट नै भन्दै आएको बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष एवं बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका सदस्य राजकुमार क्षेत्रीले बताए। उत्तर–पश्चिम भागका बाँगे, बाङ्सिङ, सरादीसम्मका बासिन्दाले पनि यसलाई बाँगेकोट नै भन्ने गरेका छन्। बाँगेकोट नजिकैको घिमिरे गाउँ यहाँको प्राचीन बस्ती हो।

परापूर्वकालदेख नै सुरक्षाका दृष्टिले अग्लो पर्खालले घेरिएको यस कोटको बीचमा भैरवस्थान र पुजारी घर छ भने पर्खाल बाहिर बलि दिने मौलो छ। यो कोट आरुखर्कका रजौटाले बनाएको भन्ने किंवदन्ती छ। प्राचीनकालमा आफ्नो भरणपोषणका लागि माना चामल र बिर्ता जग्गाका मोहीबाट उठेको रकम बुझाउन जम्मा हुने यो ठाउँबाट कटुवालले खबर प्रसारण गर्ने (घोक हाल्ने) र ज्योतिषीले भविष्यवाणी गर्ने गरेको बूढापाका बताउँछन्।

वर्षको दुईपटक बडादशैँ र चैतेदशैँमा धुमधामसँग पूजा जात्रा हुने यस कोटमा रङ्गुवा, बाँगे र भाटखोलाका तालुकदार मुखियाबाट बलि दिने पाठो, रागो र माना घिउ ल्याउने प्रचलन थियो। पहिले–पहिले नुवाकोट कालाभैरव मन्दिरमा झैँ रङ्गुवा बाँगेथुम कालाभैरव स्थानमा पनि तिमल्सिना थरका बाहुन पुजारी राख्ने प्रचलन रहेकामा अहिले भने दुवै स्थानमा पुजारी यही थरको हुनुपर्ने भन्ने कुनै अनिवार्य छैन।

दसैँको फूलपातीमा रङ्गुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत् नै ल्याइने चलन छ। प्रत्येक जातजातिका भूमिका रहने गरेको यहाँ नवमीका दिनमा अरियाँले दमाईबाट बाजागाजा, रङ्गुवाली विश्वकर्माबाट हातहतियारमा साँध लगाउने तथा स्थानीय सार्कीबाट बलिको राँगो लैजाने, सफा गर्ने चलन रहेको थियो। पछिल्ला समयमा सबै मिलेर कोटको संरक्षण र रेखदेख गर्ने गरेका छन्।

बाँगेकोटमा हाल नवनिर्मित मन्दिर, भवन तथा पर्खाल एवं घना रुखवृक्ष छन्, बिर्ताप्रथाको उन्मूलन र तालुकदार परम्पराको खारेजी भएपछि अक्षयकोष स्थापनाबाट पनि यस कोटको विकासमा योगदान पुगेको छ। कोटमा रहेका पुराना खुँडा र खुकुरीले यहाँको प्राचीनतालाई झल्काउने गरेको छ। धार्मिक, प्राकृतिक र पर्यटकीय आकर्षणको केन्द्र बाँगेकोटको विकासलाई फेदीखोला गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

२०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको सहयोगमा निर्माण भइरहेको छ। बाँगेकोटको महत्त्वलाई उजागर गर्न स्थानीय युवाको सक्रियतामा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रवर्द्धनात्मक कार्यक्रम जारी छन्। हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आगामी फागुन २७ गते बाँगेकोटमा हाइकिङ गराउन लागेको उक्त संस्थाका संयोजक कृष्ण रानाभाटले जानकारी दिए। – वासुदेव पौडेल/रासस

प्रकाशित: १२ फागुन २०७९ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast