उपमहानगरको केन्द्रमै दयनीय विद्यालय, ६ कक्षा चलाउन ३ कोठा मात्रै

हिमाल प्रेस ११ फागुन २०७९ २१:२२
2
SHARE
उपमहानगरको केन्द्रमै दयनीय विद्यालय, ६ कक्षा चलाउन ३ कोठा मात्रै

जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। तर, यहाँ पठनपाठनका लागि कक्षा कोठाको चरम अभाव छ। एकैपटक ६ वटा कक्षा सञ्चालन हुनुपर्ने विद्यालयमा जम्मा ३ वटा मात्रै कक्षाकोठा छन्। एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्न विद्यालय बाध्य छ।

विद्यालयकी शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थील, शिक्षकशिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भएको गुनासो गरिन्। ‘एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन’ उनले भनिन्, ‘यो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि खुसी छैनौं । गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ।’ विद्यार्थीको गुणस्तरीय सिकाइमा अवरोध भएपछि विद्यालयमा पढ्ने विद्यार्थीको संख्या पनि बर्सेनि घट्दै गएको छ।

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएजस्तै लाग्छ। उपमहानगरपालिकाको केन्द्रमै रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ।
विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहेको यहाँका शिक्षक बताउँछन्। भौतिक पूर्वाधार व्यवस्थापनमा हुन नसक्दा यस विद्यालयमा विद्यार्थी जोगाउनै धौधौ रहेको शिक्षकशिक्षिकाको गुनासो छ।

विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा कतिपय अभिभावकले विकल्प खोज्न थालेको सुनाइन्। कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदा असुरक्षित हुने लगायत समस्या विद्यालयले औंल्याएको छ।

विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले अभावैअभाव पढाउन थालेको दशक बितिसकेको गुनासो गरे। एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन बाध्य भएको वर्षौं भइसक्यो’ उनले भने, ‘विद्यालयको आम्दानी छैन। अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके।’ प्रधानाध्यापक दासका अनुसार कुनै बेला एउटै कक्षामा २ सय जनासम्म विद्यार्थी हुन्थये। अहिले ६ वटै कक्षाका विद्यार्थी जोड्दा पनि करिब सय जना मात्रै पुग्ने उनको भनाइ छ। विद्यालयमा पूर्वाधार अभावका कारण ती विद्यार्थी पनि नियमित उपस्थित हुँदैनन्।

विद्यालयका अनुसार अहिले कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा १२ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा ९ जना विद्यार्थी छन्। शिशु कक्षामा ४० जना विद्यार्थी छन्। विद्यालयमा २ जना स्थायी, २ जना राहत र ३ जना बाल विकासलाई पढाउने शिक्षकशिक्षिकता तथा २ जना सहयोगी गरी ८ जना कर्मचारी छन्। कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा नरमाइलो लाग्ने बताए।

एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरूलाई विद्यालय आउनै मन नलाग्ने गुनासो उनको थियो। कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले आर्थिक अभावका लागि आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको तर यहाँ वातावरण नै नभएको गुनासो गरिन्।

विद्यालयको दयनीय अवस्थाबारे वडा र उपमहानगरपालिका नेतृत्वलाई पनि जानकारी छ। तर सुधारका लागि भने कुनै पनि पहल गरिएको छैन। उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरेको बताए। आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यस्तै वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले विद्यालय सुधारका विषयमा छलफल भइरहेको बताए। तीनै तहका सरकारले सहयोग गरेमा विद्यालयको अवस्था सुधार हुने र शिक्षक पनि थपेर विद्यार्थीको आकर्षण बढाउने योजना रहेको प्रधानाध्यापक दासको भनाइ छ। राससको सहयोगमा

प्रकाशित: ११ फागुन २०७९ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast