पाँच दलीय गठबन्धन ब्युँताउने तयारी

हिमाल प्रेस ११ फागुन २०७९ ७:१९
20
SHARES
पाँच दलीय गठबन्धन ब्युँताउने तयारी

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा नजिकिँदै जाँदा पुरानो पाँचदलीय गठबन्धन नै ब्युँतिने सम्भावना बढेको छ। गएको पुस १० मा नेपाली का‌ंग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चाको गठबन्धन थियो।

तर कांग्रेसले प्रधानमन्त्री नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गठबन्धन गरेका थिए। अहिले एमालेको नेतृत्वमा ७ दलीय गठबन्धन बनेको छ।

बुधबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पुरानै गठबन्धन ब्युँताउने लगभग सहमति भएको छ। ‘राष्ट्रपतीय निर्वाचनमा कांग्रेस–माओवादी एक भएर लड्ने भन्ने हो,’ नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने,‘पहिले जे भयो/भयो। अब यसरी अघि बढौँ भन्नेमा लगभग सहमति भएको हो।’ उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ।

हिजो बेलुका बालुवाटारमा भएको देउवा-प्रचण्ड भेटमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको ती नेताले बताए। ‘अब गठबन्धन नै बनाएर अघि बढ्नुपर्छ भन्ने हो। एमालेसँग सहकार्य फलदायी भएन।’ ती नेताले भने। दोस्रो स्तरका नेतालाई लिएर हिजो बेलुका देउवा बालुवाटार पुगेका थिए।

भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चेपुवामा पारेको प्रचण्डको गुनासो थियो। सत्ता सञ्चालनमा अवरोध गर्न खोज्ने, साना विषयमा प्रश्न उठाउने भएकाले सत्ता सञ्चालन गर्न असहज भएको प्रचण्डले गुनासो गरेका थिए। यता देउवाले भने एमालेलाई राष्ट्रपति नदिएर आफूलाई दिए सहकार्य गर्न तयार रहेको बताएका थिए।

ती नेताका अनुसार प्रचण्डलाई तीन वर्ष र बाँकी समय कांग्रेस र एकीकृत समाजवादीले चलाउने गरी सहमति भएको भनाइ छ। दुई नेताबीच बुधबार झण्डै डेढ घण्टा राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ। हिजो अनौपचारिक सहमति भएको र आज बेलुका सम्ममा लिखित सहमति गर्ने बताइएको छ।

प्रकाशित: ११ फागुन २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast